दक्षिण एसिया व्यापार मेलाले अवसर विस्तार गर्दै

काठमाडौं । दक्षिण एसियाली क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना हुन लागेको “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क सदस्य राष्ट्रहरूका सहभागीहरू काठमाडौं आइपुग्ने क्रमसमेत सुरु भइसकेको छ ।

मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने यस अन्तर्राष्ट्रिय व्यापार मेलालाई क्षेत्रीय व्यापार विस्तार र आर्थिक गतिविधि पुनः चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

देशभित्र लामो समयदेखि सुस्त देखिएको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि नयाँ ऊर्जा र सक्रियताको प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । पछिल्लो समय विभिन्न आर्थिक चुनौतीका कारण निष्क्रियजस्तै बनेका व्यवसायीहरू पुनः उत्साहका साथ सहभागिताका लागि अग्रसर देखिएका छन् ।

इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रा.लि.द्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (इपीबी) को सहकार्य रहेको छ । साथै, भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले कार्यक्रमलाई समर्थन गरेको छ ।

कार्यक्रमका सहयोगी संस्थाहरूमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रीज मोरङ, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ तथा विश्व उद्यम सहायता फाउन्डेसन रहेका छन् ।

मेलाका साझेदारहरूमा इटिकेटनेपाल डट कम (अनलाइन पार्टनर), विराट बजार (बीटुबी पार्टनर), वल्र्डलिंक (इन्टरनेट पार्टनर), एक्जिविसन लाइट हाउस (लाइटिङ पार्टनर), जोडहनी ग्रुप (सीसीटिभी पार्टनर), वन पसल प्रा.लि. (ई–कमर्स पार्टनर), नित्य ट्रेडिसनल (टेक्सटाइल पार्टनर) तथा उद्यमी घर (उद्यमी पार्टनर) रहेका छन् ।

मेलामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका प्रदर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्नु हो ।

मेला संयोजक सुमन महर्जनका अनुसार करिब १५० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ भने झण्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय र व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

उपभोक्ता हितलाई ध्यानमा राख्दै गुणस्तरीय वस्तु प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसमेत मेलाले लिएको छ । साथै, निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्दै व्यापार समुदायलाई निर्यात विस्तारका लागि प्रोत्साहित गर्ने उद्देश्य पनि रहेको छ ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखिने छन् । यसले आगन्तुकहरूका लागि आकर्षक एक्स्पोको रूप लिने विश्वास गरिएको छ ।

त्यसैगरी, मेलाको अवधिभर व्यापारिक भेटघाट, फुड फेस्टिवल, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिने जनाइएको छ ।

आयोजकले मेला मार्फत नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना हुने विश्वास व्यक्त गर्दै आफ्ना ब्रान्ड प्रवर्द्धन गर्न इच्छुक सबै फर्म तथा कम्पनीहरूलाई स्टल बुकिङ तथा प्रायोजनका लागि र सर्वसाधारणलाई अवलोकनका लागि आमन्त्रण गरेको छ ।