सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टरमा लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकको पहिचान बनाएको वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले नेपालमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने भएको हो।
अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्स र मानुसको मातृक कम्पनी हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता छन्।
विश्व अर्थतन्त्रमा राम्रो योगदान दिने विश्वका ‘टप–६ बिग टेक’ मध्ये मेटा एउटा हो। वर्ल्डलिंकको काठमाडौं, मातातीर्थमा पहिलेदेखि नै आफ्नै डेटा सेन्टर सञ्चालनमा छ। सोही पूर्वाधार उपयोग र विस्तार गर्ने गरी मेटा नेपाल आउन लागेको हो।
पछिल्लो समझदारी अनुसार मेटाले नेपालमा टायर–थ्री स्तरको डेटा सेन्टर बनाउँदैछ। टायर–थ्री डेटा सेन्टर भनेको सिस्टम बन्द नगरिकनै मर्मत गर्न मिल्ने, उच्च भरपर्दो स्तरको पूर्वाधार हो। यो तहको डिजिटल पूर्वाधार आधुनिक डिजिटल सेवा र एआई कम्पनीहरूका लागि अत्यावश्यक हुन्छ।
बैंक, बैंकिङ एप तथा फिन टेक कम्पनीहरुले उपयोग गर्ने यस्तो डेटा सेन्टर स्वास्थ्य सेवाको डिजिटल रेकर्ड, २४ घण्टै सेवा उपलब्ध हुनुपर्ने बिरामीका डेटा व्यवस्थापन तथा अस्पतालका लागि नभइ हुँदैन। यो बाहेक क्लाउड, होस्टिङ सेवालाई पनि यो जरुरी पर्छ। इकमर्स तथा उच्च ट्राफिक हुने अनलाइन कम्पनीहरूले पनि टायर–थ्री डेटा सेन्टर नै उपयोग गर्छन्।
नेपालमा डेटा सेन्टर सञ्चालको लागि मेटाले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने समझदारी गरेको छ। यो परियोजनामा नेपालको स्थानीय प्रतिनिधिको रुपमा वर्ल्डलिंक रहनेछ।
