नेपाल लाइफको स्वास्थ्य र मानवीय अभियान विस्तार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्। स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोस्टिक मार्फत उपलब्ध गराइएको थियो।

शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिडलगायतका परीक्षण निःशुल्क गरिएको थियो। साथै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा पनि निःशुल्क प्रदान गरिएको कम्पनीले जनाएको छ।

यससँगै कम्पनीले सातै प्रदेशका १३ स्थानमा वृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममार्फत इटहरी मा ३० पिन्ट, वीरगञ्ज मा २५ पिन्ट, जनकपुर मा २५ पिन्ट, काठमाडौं मा ७८ पिन्ट, नारायणगढ मा ८१ पिन्ट, नुवाकोट मा ३९ पिन्ट, हेटौंडा मा २६ पिन्ट, बनेपा मा ३२ पिन्ट, पोखरा मा ५५ पिन्ट, बुटवल मा ३३ पिन्ट, भैरहवा मा ३४ पिन्ट, सुर्खेत मा २५ पिन्ट तथा धनगढी मा ३३ पिन्ट रगत संकलन गरिएको छ। यसरी कुल ५०५ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

‘किनकि जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले हाल करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ।

विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ। साथै ६९ हजारभन्दा बढी अभिकर्ताको सञ्जालमार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले कम्पनीलाई मार्गदर्शन गर्ने सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले आगामी दिनमा पनि कम्पनीले सबै पक्षबाट निरन्तर विश्वास, माया र सहकार्य प्राप्त गर्ने अपेक्षा राखेको बताएका छन्।