टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच सहकार्य, प्रविधि शिक्षामा नयाँ अवसर

काठमाडौं । नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको सहकार्यलाई बलियो बनाउने उद्देश्यलेटेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच  महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षाजस्ता आधुनिक प्रविधिमा दक्ष बनाउँदै उनीहरूको व्यावसायिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेल ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार विद्यार्थी तथा प्राध्यापकका लागि विशेष प्राविधिक तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गरिनेछ। योग्य विद्यार्थीलाई इन्टर्नसिप तथा रोजगारीका अवसर उपलब्ध गराइनेछ भने पाठ्यक्रमलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन दुवै संस्थाले सहकार्य गर्नेछन्। साथै अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक सोच विकासका लागि संयुक्त रूपमा विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ।

कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले उद्योगको अनुभवलाई प्रत्यक्ष शिक्षासँग जोड्दा दक्ष जनशक्ति उत्पादनमा ठूलो योगदान पुग्ने बताए। त्यस्तै राजु कट्टेलले यस सहकार्यले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान, विशेषज्ञको मार्गदर्शन र प्रतिस्पर्धी क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरे।

दुई वर्षका लागि गरिएको यो सहकार्यले नेपालको डिजिटल रूपान्तरण, सुरक्षित प्रविधि वातावरण निर्माण तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।