भन्सार सेवा डिजिटल यात्रामा

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार

काठमाडौं । भन्सार विभागले आफ्नो सेवा प्रणालीलाई पूर्ण रूपमा प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यसहित नयाँ डिजिटल व्यवस्था लागू गरेको छ ।

विभागले भन्सार प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउने लक्ष्यका साथ ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ (एनएनएसडब्लु) पोर्टलमार्फत ‘टिआईभी’ घोषणा गर्न सकिने अनलाइन प्रणाली सुरु गरेको हो ।

सूचना प्रविधि प्रणाली समन्वय तथा विकास शाखाका अनुसार गत वैशाख १७ गतेको निर्णयअनुसार यो प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याइएको छ । यसअघि कागजी प्रक्रियामा हुने ढिलाइ र झन्झटलाई घटाउँदै सेवा प्रवाहलाई सहज बनाउन डिजिटल प्रणाली लागू गरिएको विभागले जनाएको छ ।

नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले टिआईभीसम्बन्धी सबै घोषणा घर वा कार्यालयबाटै अनलाइन पोर्टलमार्फत गर्न सक्नेछन् । यसले भन्सारमा हुने कागजी प्रक्रिया घटाउनुका साथै सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

भुक्तानी प्रक्रियालाई सहज बनाउन विभागले दुई विकल्प उपलब्ध गराएको छ । सेवाग्राहीले भौतिक रूपमा उपस्थित भएर वा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) मार्फत शुल्क तिर्न सक्नेछन् । ई–पेमेन्ट प्रणालीले राजस्व संकलनलाई अझ सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

विभागले देशभरका सबै भन्सार कार्यालय तथा मातहत निकायलाई परिपत्र जारी गर्दै अबदेखि टिआईभीसम्बन्धी सबै काम अनिवार्य रूपमा यही नयाँ अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसका लागि विभागको आधिकारिक वेबसाइटमा आवश्यक लिङ्क र विवरणसमेत उपलब्ध गराइएको छ । नयाँ प्रणालीले भन्सार सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार