पर्यटन प्रवद्र्धनमा फ्लाई नेपाको अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई विश्व बजारमा प्रवद्र्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल्स एन्ड टुर्स ले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ’ सम्मान प्राप्त गरेको छ ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकारी को नेतृत्वमा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभावकारी रूपमा प्रस्तुत गरेको योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिल ले गरेको थियो भने सहआयोजकका रूपमा यात्रा म्यागजिन रहेको थियो । कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पुर्‍याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो ।

आयोजकका अनुसार फ्लाइ नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवद्र्धन रणनीति र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएकाले ‘बेस्ट इन ट्राभल मार्केटिङ’ अवार्ड प्रदान गरिएको हो ।

करिब एक दशकअघि स्थापना भएको फ्लाइ नेपा ट्राभल्स एन्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु परिचित गराउँदै आएको छ । कम्पनीले विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने सन् २०२६ मा दुबईमा कार्यालय स्थापना गर्दै अन्तर्राष्ट्रिय सञ्जाल थप विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

अवार्ड प्राप्त गरेपछि प्रबन्ध निर्देशक अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रमा गरिएको नवप्रवर्तनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले नेपाललाई विश्व पर्यटन बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत आफूलाई नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित गर्दै गएको दाबी गरेको छ ।