काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनसँग जारी युद्ध अन्त्यतर्फ उन्मुख रहेको संकेत दिएका छन्। मस्कोमा आयोजित विजय दिवस समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले युद्ध अन्त्यका लागि आफू प्रत्यक्ष वार्तामा बस्न तयार रहेको बताएका हुन्। यद्यपि, उनले युद्ध लम्बिनुको मुख्य कारण पश्चिमी मुलुकहरूको सैन्य सहयोग रहेको आरोप पुनः दोहोर्याएका छन्।
पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सँग मस्को वा कुनै तटस्थ मुलुकमा प्रत्यक्ष भेटवार्ता गर्न सकिने धारणा राखेका छन्। तर उनले वार्ताअघि नै शान्ति सम्झौताका आधारभूत सर्तहरू टुंगिनुपर्ने अडान पनि व्यक्त गरेका छन्। उनका अनुसार सम्भावित भेटवार्ता नयाँ छलफलको सुरुवात नभई अन्तिम सहमतितर्फको निर्णायक चरण हुनुपर्छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सन् २०२५ अगस्टमा प्रस्ताव गरेको त्रिपक्षीय बैठकलाई रुसले अस्वीकार गरेको थियो। अहिले भने पुटिनले युरोपसँग नयाँ सुरक्षा संरचनाबारे छलफल गर्न आफू सकारात्मक रहेको संकेत दिएका छन्।
यस क्रममा उनले जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडर लाई सम्भावित वार्ता साझेदारका रूपमा उपयुक्त व्यक्तित्व भएको बताएका छन्। श्रोडर र पुटिनबीचको निकट सम्बन्धका कारण उनी जर्मनीभित्र आलोचनाको केन्द्रमा रहँदै आएका छन्।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गर्नुको मुख्य कारण नेटो विस्तार रहेको दाबी गर्दै आएको छ। पुटिनले नेटोको विस्तारलाई रुसको सुरक्षा र अस्तित्वसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। रुसले विशेषगरी युक्रेनको सम्भावित नेटो सदस्यताको कडा विरोध गर्दै आएको छ।
पछिल्लो समय अमेरिकाको पहलमा रुस र युक्रेनबीच तीन दिने अस्थायी युद्धविराम तथा कैदीबन्दी साटासाटबारे छलफल भइरहेको छ। तर युद्ध मैदानमा तनाव भने अझै कम भएको छैन। पछिल्लो २४ घण्टामा मात्रै अग्रपंक्तिमा १५० भन्दा बढी भिडन्त भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। रुसी आक्रमणका कारण कम्तीमा तीन जनाको मृत्यु भएको दाबी पनि गरिएको छ।
चार वर्षभन्दा लामो समयदेखि जारी युद्धले युक्रेनका धेरै सहर र पूर्वाधार ध्वस्त बनाएको छ भने रुसको करिब ३ ट्रिलियन डलर बराबरको अर्थतन्त्रमा समेत ठूलो असर परेको अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उल्लेख गरिएको छ।
यसबीच पुटिनले पश्चिमी देशहरूले रुसको हारको प्रतीक्षा गरिरहेको भए पनि त्यो योजना सफल हुन नसकेको दाबी गरेका छन्। उनले पश्चिमा राष्ट्रहरू अहिले आफूहरूले सिर्जना गरेको जटिल परिस्थितिमै फसेको टिप्पणी समेत गरेका छन्।
तर अन्तर्राष्ट्रिय विश्लेषकहरूले पुटिनको पछिल्लो अभिव्यक्तिलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार विगत डेढ वर्षमा पनि युद्ध अन्त्यका धेरै संकेत र आश्वासन आएका थिए, तर व्यवहारमा त्यसको प्रभाव देखिएको थिएन।
विश्लेषकहरूका अनुसार अहिले रुसले अपेक्षा गरेअनुसार निर्णायक विजय हासिल गर्न नसक्नु पनि पुटिनले शान्ति वार्ताप्रति लचकता देखाउनुको एउटा कारण हुन सक्छ। अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि यो युद्ध अन्त्यलाई आफ्नो राजनीतिक प्राथमिकतामध्ये एक बनाएका छन्।
यद्यपि, युद्ध अन्त्यका लागि अझै केही मुख्य विषयमा दुवै पक्ष अडिग देखिएका छन्। रुसले पूरै डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउन चाहिरहेको छ भने युक्रेनले आफ्नो भूमि कुनै पनि हालतमा नछोड्ने अडान कायम राखेको छ। यही कारणले शान्तिको संकेत देखिए पनि स्थायी समाधान अझै चुनौतीपूर्ण बनेको विश्लेषण गरिएको छ।
