गर्मी लक्षित सीजी फ्रिज बजारमा विस्तार

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै घरायसी रूपमा खानेकुरा सुरक्षित राख्ने आवश्यकता बढिरहेको अवस्थामा सीजी इलेक्ट्रोनिक्सले विभिन्न क्षमताका रेफ्रिजरेटर बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको दैनिक जीवनशैलीलाई ध्यानमा राख्दै कम्पनीले आधुनिक प्रविधियुक्त, ऊर्जा–दक्ष तथा विविध मोडलका फ्रिज उपलब्ध गराएको जनाएको छ ।

सीजीले ६० लिटरदेखि ५५० लिटरसम्म क्षमताका कुल ४४ वटा रेफ्रिजरेटर मोडल बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार यी फ्रिजहरू गर्मी मौसममा खाद्य सामग्रीलाई लामो समयसम्म ताजा र सुरक्षित राख्न सहयोगी हुनेछन् ।

खाद्य सामग्रीको ताजापन कायम राख्न ‘मल्टी–एयर फ्लो’ र ‘फास्ट कुलिङ’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले गर्मीमा पनि छिटो र प्रभावकारी रूपमा कुलिङ गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

त्यस्तै, विद्युत् खपत घटाउने उद्देश्यले ‘स्मार्ट इन्भर्टर प्रविधि’ प्रयोग गरिएको छ । यस प्रविधिले आवश्यकताअनुसार मात्र कम्प्रेसर सञ्चालन गर्ने भएकाले ऊर्जा बचतमा सहयोग पुग्ने कम्पनीको दाबी छ ।

सीजीले विभिन्न परिवार संरचनालाई ध्यानमा राख्दै उत्पादनहरू वर्गीकृत गरेको छ । साना परिवार र सीमित ठाउँका लागि ६० देखि २३० लिटर क्षमताका ३३ वटा सिंगल डोर मोडल उपलब्ध छन् । यी मोडल कम विद्युत् खपत, सहज प्रयोग र छिटो कुलिङका कारण उपयुक्त मानिएका छन् ।

मध्यम तथा संयुक्त परिवारका लागि २२० देखि ३५० लिटर क्षमताका ९ वटा डबल डोर फ्रस्ट–फ्री मोडल उपलब्ध छन् । यी मोडलमा फराकिलो भण्डारण क्षमता र आधुनिक डिजाइन समावेश गरिएको छ ।

प्रिमियम प्रयोगकर्ताका लागि कम्पनीले ५२० लिटर क्षमताको मल्टी–डोर मोडल ‘सीजीएमएमडी५४०एमजीआई’ र ५५० लिटर क्षमताको साइड–बाइ–साइड मोडल ‘सीजीएमएसबीएस५६०पी५’ समेत बजारमा ल्याएको छ ।

सीजी चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीअनुसार उत्पादन विकास गर्दै आएको जनाएको छ । गर्मीयाममा खाद्य सुरक्षा र ऊर्जा दक्षता दुवैलाई ध्यानमा राख्दै ल्याइएका यी उत्पादनहरू उपभोक्तामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।