काठमाडौं । नेपाली जीवन बीमा बजार निरन्तर विस्तार हुँदै गएको छ । आर्थिक मन्दी र बजारको सुस्तताका बीच पनि नागरिकले आफ्नो भविष्य सुरक्षित गर्न बीमाप्रति देखाएको आकर्षणले जीवन बीमा कोषको आकार उल्लेखनीय रूपमा बढेको छ।
चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूको कुल जीवन बीमा कोष १७.७१ प्रतिशतले वृद्धि भई साढे ९ खर्बको नजिक पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ७ खर्ब ६८ अर्ब ७० करोड रुपैयाँ रहेको कोष बढेर हाल ९ खर्ब ४ अर्ब ८१ करोड रुपैयाँ नाघेको छ।
बजारमा लामो समयदेखि अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स ले आफ्नो वर्चस्व कायम राख्दै २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ बराबरको जीवन बीमा कोष निर्माण गरेको छ। कम्पनीले एक वर्षमा १७.५९ प्रतिशतको वृद्धि हासिल गरेको छ।
दोस्रो स्थानमा रहेको एलआइसी नेपाल ले पनि आफ्नो बलियो उपस्थिति कायम राख्दै १ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ बराबरको कोष विस्तार गरेको छ। यी दुई कम्पनीले मात्रै कुल बजारको झन्डै आधा हिस्सा ओगटेका छन्।
विकासदरका हिसाबले भने नयाँ कम्पनीहरू अग्रस्थानमा देखिएका छन्। आइएमई लाइफ इन्स्योरेन्स ले ४२.११ प्रतिशतको उच्च वृद्धि गर्दै १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कोष विस्तार गरेको छ।
त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स ले ३६.२७ प्रतिशत वृद्धि गर्दै २४ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले ३२.०७ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले ३१.३८ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले ३०.७६ प्रतिशतको बलियो वृद्धि हासिल गरेका छन्।
नेसनल लाइफ इन्स्योरेन्स ले २३.५९ प्रतिशतको वृद्धिसहित आफ्नो कोष १ खर्ब ५ अर्ब रुपैयाँ पुर्याउँदै एक खर्ब क्लबमा प्रवेश गरेको छ। तीन कम्पनी गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स को कोष ८६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्स ले २५.०४ प्रतिशतको वृद्धि गर्दै ११ अर्ब ९० करोड रुपैयाँको कोष विस्तार गरेको छ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनी को वृद्धि दर भने ८.८१ प्रतिशतमा सीमित रहेको छ।
समग्रमा पुराना कम्पनीहरूले बजारमा आफ्नो बलियो पकड कायम राख्दै गर्दा नयाँ कम्पनीहरूले तीव्र विस्तारमार्फत प्रतिस्पर्धा बढाइरहेका छन्। यसले नेपाली जीवन बीमा बजार अझै गतिशील र विस्तारउन्मुख बन्दै गएको संकेत गरेको छ।
