ढुक्क हुनुस-प्रधानमन्त्री बालेन

सरकारले हिजो शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले ‘ढुक्क हुन’ आग्रह गरेका छन्।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिसकेपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस् ।’

बजेट प्रस्तुतिलगत्तै त्यति मात्र लेखेका उनले सम्भवतस् सरकारले जे गर्छ, राम्रै गर्छ, शंका नगर्न भनेका होलान्।

सरकारको नीति तथा कार्यक्रमको जवाफ दिन संसद्‌मा उपस्थित नभएको भन्दै विपक्षीले विरोध गरिरहेका बेला शुक्रबार बजेट प्रस्तुत गर्ने बेला भने प्रधानमन्त्री बालेन संसद्‌को संयुक्त बैठकमा सहभागी भएका थिए।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-०८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका छन्।

यो उनको पहिलो बजेट हो। अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०।३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले बताए।

यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो।

चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए।