काठमाडौँ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सकारात्मक संकेत देखिन थालेको छ। विश्वका प्रमुख हवाई सेवा प्रदायकमध्ये एक फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच मङ्गलबार पोखरामा भएको भेटवार्ताले विमानस्थलको भविष्यप्रति नयाँ आशा जगाएको छ।
भेटका क्रममा दुबई–पोखरा सिधा उडान सञ्चालनको सम्भावना, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय उड्डयन सुरक्षासम्बन्धी मापदण्डका विषयमा विस्तृत छलफल भएको थियो। पोखराको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाबाट प्रभावित भएका लुकाजले फ्लाइ दुबईले पोखरालाई आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा जोड्न सके यस क्षेत्रको पर्यटन उद्योगमा उल्लेखनीय परिवर्तन आउन सक्ने धारणा व्यक्त गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानसँग जोड्न सक्रिय पहल गरिरहेका महानगर प्रमुख आचार्यले विमानस्थलको प्राविधिक क्षमतामाथि कुनै शङ्का नगर्न आग्रह गरे। उनले नेपाल सरकारसँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै चीनलगायत विभिन्न मुलुकबाट सफलतापूर्वक चार्टर उडान सञ्चालन भइसकेकाले विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सक्षम रहेको बताए।
उनले नेपाल र संयुक्त अरब इमिरेट्सबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न सिधा हवाई सम्पर्क अपरिहार्य रहेको उल्लेख गर्दै फ्लाइ दुबईको मुख्यालय तहमा आवश्यक पहल गरिदिन लुकाजसँग अनुरोध गरेका थिए।
उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन तथा एयरलाइन सञ्चालन क्षेत्रमा दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका लुकाजको पोखरा भ्रमणलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान अभियानका लागि महत्त्वपूर्ण मानिएको छ। भेटवार्ताका क्रममा उनले पोखराको सम्भावना र पूर्वाधारप्रति सकारात्मक धारणा व्यक्त गरेको स्रोतले जनाएको छ।
मित्रराष्ट्र चीनको सहयोगमा करिब २२ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तर सञ्चालनमा आएको साढे तीन वर्ष बितिसक्दा पनि विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडान सेवा आकर्षित गर्न सकेको छैन। हाल विमानस्थल मुख्यतः आन्तरिक उडानमै सीमित रहँदा ठूलो लगानीको पूर्वाधार अपेक्षित रूपमा उपयोग हुन नसकेको अवस्था छ।
यद्यपि पछिल्लो समय अन्तर्राष्ट्रिय एयरलाइन्ससँग भइरहेको संवाद र फ्लाइ दुबईका उच्च अधिकारीको पोखरा भ्रमणले विमानस्थललाई अन्तर्राष्ट्रिय उडान सञ्जालमा जोड्ने प्रयासले गति लिएको संकेत दिएको छ। यसले पर्यटन व्यवसायी, सरोकारवाला निकाय तथा पोखरेली जनतामा पुनः आशा सञ्चार गरेको छ।
यदि आगामी दिनमा दुबई–पोखरा सिधा उडानको प्रक्रिया अघि बढ्न सके पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो वास्तविक उद्देश्यअनुसार अन्तर्राष्ट्रिय यात्रु र पर्यटन प्रवाहको केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
