वातावरण विभागले आज विश्व वातावरण दिवस मनाएको छ । हरेक वर्ष जुन ५ मा मनाइने अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा विभागले आज शुक्रबार काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गर्यो ।
विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
विश्व वातावरण दिवस २०२६ को नारा “Inspired by Nature. For Climate. For Our Future.” अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ”ले प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु संकटको समाधानको स्रोतका रूपमा प्रस्तुत गर्दछ। वन, नदी, हिमाल र जैविक विविधताबाट प्रेरणा लिँदै वातावरण संरक्षणका प्रयासहरूलाई बलियो बनाउन र भावी पुस्ताका लागि स्वच्छ, हरित तथा सुरक्षित भविष्य निर्माण गर्न यो नाराले सबैलाई आह्वान गर्दछ।
वातावरण दिवसको पृष्ठभूमि
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।
नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।