जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार बसेको प्रदेश सभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा वन क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
प्रस्तावित बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ तथा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटले विकास निर्माण तथा उत्पादनमुखी क्षेत्रलाई केन्द्रमा राखेको सरकारको दाबी छ।
त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष समपूरक अनुदान गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटको विशेष आकर्षणका रूपमा प्रदेश सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। साथै कार्यसम्पादन मूल्याङ्कनका आधारमा कर्मचारीलाई थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने व्यवस्था पनि बजेटमा समेटिएको अर्थमन्त्री भट्टराईले बताए।
प्रदेश सरकारले कर्मचारीको मनोबल वृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले तलब तथा प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जनाएको छ।
