विश्वलाई आकर्षित गर्दै चाइना

पछिल्लो समयविभिन्न मुलुकका अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय व्यापारमा ठूलो चुनौती देखा परे पनि चीन यसतर्फ सशक्त ढंगले अघि बढेको पाइएको छ ।

उत्तर पश्चिमस्थित सिन्जियाङ स्वायत्त प्रदेशको राजधानी उरुमुछीमा जुन महिनाको अन्तिम साता आयोजना गर्न लागिएको विश्वव्यापी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

आर्थिक समृद्धिको नयाँ चरणतर्फ अघि बढेको सिन्जियाङमा जुन २६ तारिखदेखि पाँच दिने चीन युरेसिया कमोडिटी तथा ट्रेड एक्सपो आयोजना हुँदै छ ।

‘सिल्करोडको समृद्धि साझेदारी’,‘युरेसिया सहयोगको विस्तार’ गर्ने उद्देश्यले पाँचौ पटक उरुमुछीमा एक्सपो आयोजना गर्न लागिएको हो ।

चाइना–युरोसिया एक्सपो सचिवालयकी उप महासचिव तथा सिन्चियाङ अन्तर्राष्ट्रिय एक्सपो प्रशासनकी निर्देशक फु युनयानले यस पटकको एक्सपोमा सहभागिता थप फराकिलो हुने बताउनुभयो ।

यसअघि सन् २०२३ को एक्सपोमा रुस,कजाकस्तान,किर्गिस्तान, ताजिकिस्तान,उज्बेकिस्तान, पाकिस्तान,अफगानिस्तानका साथै सात अन्तर्राष्ट्रिय संगठन,चीनका २६ प्रान्त एवम् स्वायत्त क्षेत्र र शहरको सहभागिता थियो ।

पाँच सयभन्दा बढी कम्पनीका १३ सय स्टल प्रदर्शन गरिएको बताइन्छ ।

चीनका पाँच सय ठूला कम्पनी र औद्योगिक संस्थासँग ६४ व्यापार तथा लगानी प्रवर्धनसम्बन्धी कार्य भएको थियो भने एक्सपोको क्रममा तीन सय ६० आर्थिक तथा व्यापार सहयोग परियोजनामा हस्ताक्षर गरिएको थियो ।

सिन्जियाङको बढ्दो वैदेशिक व्यापारलाई अन्तर्राष्ट्रिय रुपमा थप विस्तार गर्न एक्सपो सहयोगी हुने उपसचिव फुको भनाइ छ ।

उहाँले भन्नुभयो,‘सिन्जियाङको व्यापार, व्यवसायलाई अन्तर्राष्ट्रिय रुपमा फराकिलो बनाउँदै गुणस्तरीय सामानको उत्पादन,विशेषगरी मध्य एसिया,युरोप र दक्षिण तथा दक्षिणपूर्वी एसिया,मध्यपूर्वी र अफ्रिकी मुलुकसँगको व्यापारिक सम्बन्ध विस्तारमा यस पटकको एक्सपो महत्वपूर्ण हुने छ ।’