लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँ बढेको छ ।
यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भएसँगै धान रोपाइँको गति बढेको हो ।
असारको दोस्रो सातासम्म पर्याप्त वर्षा नहुनुका साथै सिँचाइ सुविधाको अभावका कारण कुल रोपाइँयोग्य भूभागको आधा हिस्सामा पनि रोपाइँ हुन सकेको थिएन ।
तर, असार १५ गतेपछि देशभर व्यापक रूपमा मनसुनी वर्षा सुरु भई साउनको पहिलो साता बित्दा नबित्दै रोपाइँको रफ्तार सोचेभन्दा निकै तीव्र बनेको कृषि विभागले जनाएको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको तथ्याङ्कअनुसार असारको अन्तिम साता अघिल्लो वर्षको तुलनामा निकै पछाडि परेको रोपाइँ साउनको पहिलो सातासम्म आइपुग्दा अघिल्लो वर्षको रोपाइँ प्रतिशतभन्दा अगाडि बढेको छ ।
असारको अन्तिम सातासम्मको तथ्याङ्कलाई नियाल्दा यस वर्ष धान रोपाइँको सुरुआत निकै सुस्त देखिएको थियो ।
कृषि विभागका अनुसार असार २६ गतेसम्म देशभरका कुल १३ लाख ७० हजार ६२ दशमलव १३ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये जम्मा ४९ दशमलव ८१ प्रतिशत अर्थात् ६ लाख ८२ हजार ३७४ दशमलव ७८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको थियो ।
जबकि अघिल्लो वर्ष अर्थात् २०८२ असार २९ गतेसम्मको विवरणअनुसार कुल १३ लाख ८३ हजार ७३२ दशमलव ९८ हेक्टर रोपाइँयोग्य भूभागमध्ये ५९ दशमलव २८ प्रतिशत अर्थात् ८ लाख २० हजार २१४ दशमलव ७१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको थियो ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा असार २६ सम्म ९ दशमलव ४७ प्रतिशत कम रोपाइँ भएको थियो ।
असारको अन्तिम सातासम्म प्रदेशगत रूपमा भएको रोपाइँको तुलना गर्दा सुदूरपश्चिमबाहेक अन्य प्रायः सबै प्रदेशहरूमा २०८२ को तुलनामा २०८३ मा रोपाइँको प्रगति पछाडि रहेको थियो ।
कोशी प्रदेशको रोपाइँयोग्य क्षेत्रमध्ये ३१ प्रतिशतमा मात्रै रोपाइँ भएको थियो, जबकि २०८२ असार २९ सम्म त्यहाँ ४१ दशमलव ३२ प्रतिशत रोपाइँ भइसकेको थियो ।
देशको मुख्य अन्नभण्डार मानिने मधेस प्रदेशमा यस वर्ष असार २६ सम्म केवल ३२ दशमलव ७६ प्रतिशतमा रोपाइँ भएको थियो भने गत वर्ष यही अवधिमा ३४ प्रतिशत रोपाइँ भइसकेको थियो ।
