साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले मंगलबार पनि सोही गिरावटलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २,६२२.४८ बिन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि २.५५ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा यस दिन कारोबार रकम ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ।
बजारमा कुल ३४७ वटा कम्पनीका ५५ हजार २४६ पटकको कारोबारमार्फत १ करोड ५१ लाख ९६ हजार कित्ता सेयर किनबेच भएका छन्।
बजारमा दोहोरो अंकको गिरावट आए पनि दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
सर्वोत्तम पेन्ट्सको सेयर मूल्य यस दिन ६८ रुपैयाँ ४० पैसाले बढेर ५२४ रुपैयाँ ६० पैसा र माउन्ट एभरेष्टको सेयर मूल्य ७८ रुपैयाँ ६० पैसाले बढेर ६०३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यता, सगरमाथा जलविद्युत कम्पनीका सेयरधनीले भने सर्वाधिक १०.६३ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा ९ वर्षे एग्रिकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। यस दिन सो बण्डको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढी र खानी खोला हाइड्रोपावरको २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक राताम्मे भएका छन्। भने एउटा उपसमूह मात्र हरियो रहेको छ।
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घट्दा व्यापार उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ।
