काठमाडौं । बाढी-पहिरोले घर–आँगन उजाडिएका छन्, परिवारमा पीडा थपिएको छ र कैयौँ नागरिक अझै पनि राहत र सहयोगको पर्खाइमा छन्। विपद्को यस्तो कठिन घडीमा पीडितको दुःखमा साथ दिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सक्रिय रूपमा अघि बढेको छ।
बाढी-पहिरोबाट प्रभावित नागरिकको अवस्था बुझ्न तथा तत्काल राहत पुर्याउन केन्द्रीय प्याब्सनको ९ सदस्यीय टोली नुवाकोट पुगेर प्रत्यक्ष मानवीय सहयोग गरेको छ। केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माको नेतृत्वमा पुगेको टोलीले प्रभावित नागरिकका लागि तत्काल ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै खाना खुवाउने व्यवस्था गरेको हो।

राहत लिएर प्रभावित क्षेत्रमा पुगेको टोलीले त्यहाँको पीडा नजिकबाट देख्यो, प्रभावित नागरिकसँग प्रत्यक्ष संवाद गर्यो र विपद्ले निम्त्याएको कठिन अवस्थाबारे जानकारी लियो। घरबार, दैनिक जीवन र आधारभूत आवश्यकतामै समस्या झेलिरहेका नागरिकको अवस्थाले आफूहरूलाई गम्भीर बनाएको टोलीले जनाएको छ।
टोलीमा केन्द्रीय उपाध्यक्ष तथा कानुन विभाग संयोजक आशिष श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष थकिन गुरुङ, प्याब्सन सचिवालय सदस्य तथा विपद् व्यवस्थापन समिति सचिव प्रल्हाद खनाल, प्याब्सन जिल्ला सचिव ललितपुरका सुन्दर कुमार श्रेष्ठ, ललितपुर महानगरपालिका प्याब्सन अध्यक्ष अर्जुन महर्जन, गोदावरी नगरपालिका प्याब्सन अध्यक्ष जलकृष्ण सिंह र गोदावरी नगरपालिका प्याब्सन उपाध्यक्ष पबिन थापालगायत सहभागी थिए।
टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्दै स्थानीय प्याब्सन, सरोकारवाला तथा प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट र छलफल गरेको थियो। विपद्को पीडा केवल भौतिक क्षतिमा सीमित नभई परिवारको दैनिक जीवन, बालबालिकाको शिक्षा र भविष्यसँग समेत जोडिएको टोलीको निष्कर्ष छ।
‘३ लाख सहयोग सुरुवात मात्र हो’
नुवाकोट प्याब्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम अधिकारीले केन्द्रीय प्याब्सनबाट प्राप्त ३ लाख रुपैयाँ प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी परिचालन गरिएको बताए।
उक्त रकमबाट प्रभावित नागरिकलाई खाना खुवाउने व्यवस्था गरिएको जानकारी दिँदै अधिकारीले विपद्को समयमा प्राप्त सहयोगले पीडितलाई राहतसँगै मनोबलसमेत दिएको बताए।
“विपद्को समयमा प्राप्त सहयोगले पीडित नागरिकलाई तत्काल राहतसँगै ठूलो हौसला मिलेको छ। प्राप्त रकमलाई स्थानीय आवश्यकताअनुसार परिचालन गरेका छौँ। अझै पनि धेरै नागरिकलाई सहयोग आवश्यक रहेकाले आगामी दिनमा थप राहतका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ,” अधिकारीले भने।
उनका अनुसार केन्द्रीय प्याब्सनको टोली आफैं प्रभावित क्षेत्रमा पुगेर नागरिकको अवस्था बुझ्नुले स्थानीय स्तरमा राहत व्यवस्थापन गर्नसमेत थप सहज भएको छ।

पीडितको दुःखमा देशभरका विद्यालय जोडिँदै
नुवाकोटको अवस्था नजिकबाट नियालेपछि प्याब्सनले तत्कालीन राहतमा मात्र सीमित नरहने निर्णय गरेको छ। बाढी–पहिरोपछि केन्द्रीय प्याब्सनले आपत्कालीन बैठक गरी देशभरका सदस्य विद्यालयलाई राहत अभियानमा जोड्ने निर्णय गरेको हो।
सोहीअनुसार प्याब्सनले १० करोड रुपैयाँ राहत रकम संकलन गर्ने लक्ष्य अघि सारेको छ। यसका लागि देशभरका सदस्य विद्यालयलाई सर्कुलर जारी गर्दै विपद्को यस कठिन घडीमा एकजुट हुन र आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरिएको छ।
विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई समेत अभियानमा सहभागी गराउने प्याब्सनको योजना छ। एउटा विद्यालयबाट सुरु भएको सानो सहयोग पनि पीडित परिवारका लागि ठूलो आशा बन्न सक्ने विश्वाससहित प्याब्सनले देशभरका शैक्षिक संस्थालाई मानवीय अभियानमा जोड्न खोजेको हो।
संकलित रकमलाई प्रभावित नागरिकको तत्कालीन राहत, पुनःस्थापना तथा प्रभावित विद्यार्थी र विद्यालयको शैक्षिक निरन्तरताका लागि आवश्यकताअनुसार परिचालन गरिने तयारी गरिएको छ।
‘विपत्तिमा विद्यार्थीको भविष्य पनि जोगाउनुपर्छ’
केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले नुवाकोट पुगेर प्रभावित नागरिकको अवस्था प्रत्यक्ष रूपमा देखेपछि प्याब्सनको सामाजिक जिम्मेवारी अझ गम्भीर बनेको बताए।
“हामी नुवाकोट पुगेर प्रभावित नागरिकको अवस्था नजिकबाट देखेर आएका छौँ। उहाँहरूको पीडा आँखैले देख्दा मन छोएको छ। तत्काल ३ लाख रुपैयाँ सहयोग गरेर खाना खुवाउने व्यवस्था गरेका छौँ, तर यो सुरुवात मात्र हो,” शर्माले भने।
उनले विपद्को पीडा भोगिरहेका नागरिकलाई तत्काल राहतसँगै भविष्यमा पुनःस्थापित हुन सक्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।
“अब देशभरका सदस्य विद्यालयसँग समन्वय गरेर १० करोड रुपैयाँ संकलन गर्ने तयारीमा छौँ। यो विपत्तिको घडीमा सम्पूर्ण प्याब्सन परिवार एकजुट भएर पीडित नागरिकको साथमा उभिनुपर्छ। राहत केवल आजको भोक मेटाउने विषय मात्र होइन, प्रभावित परिवार र बालबालिकाको भोलि सुरक्षित बनाउने जिम्मेवारी पनि हो,” शर्माले भने।
उनका अनुसार बाढी–पहिरोका कारण प्रभावित विद्यार्थीको पढाइमा परेको असरलाई समेत ध्यानमा राख्दै शैक्षिक निरन्तरता र विद्यालयको पुनःस्थापनाका लागि थप कार्यक्रम अघि बढाइनेछ।
बाढी–पहिरोले धेरै परिवारको खुसी खोसेको बेला कसैको हातमा पुग्ने एक छाक खाना, एउटा सहयोगी हात र एउटा सान्त्वनाको शब्द पनि पीडितका लागि ठूलो भरोसा बन्न सक्छ। यही मानवीय भावनालाई केन्द्रमा राख्दै प्याब्सनले तत्काल राहतदेखि पुनःस्थापनासम्मको अभियानलाई अघि बढाउने तयारी गरेको छ।
नुवाकोट पुगेर ३ लाख रुपैयाँको तत्काल सहयोगबाट सुरु भएको प्याब्सनको अभियान अब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित देशभर फैलिँदैछ। विपद्को पीडामा परेका नागरिकको आँसु पुछ्न र प्रभावित बालबालिकाको भविष्य जोगाउन देशभरका विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय सञ्चालकलाई एउटै मानवीय अभियानमा जोड्ने प्याब्सनको प्रयासले विपत्तिमा ‘हामी एक्ला छैनौँ’ भन्ने भरोसा जगाउने अपेक्षा गरिएको छ।
