वैदेशिक रोजगार व्यवसायी संघद्वारा बाढी पीडितका लागि रु. १ करोड ५० लाख आर्थिक सहयोग

काठमाडौं – काठमाडौं  हालै गएको बाढी–पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहल तथा समन्वयमा रु. १ करोड ५० लाख आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ।

यस मानवीय अभियानको संयोजन नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी CSR संयोजक तथा कोषाध्यक्ष धनमाया सिंजालीले गर्नुभएको थियो संघको आह्वानमा संघमा आबद्ध सदस्य संस्था तथा वैदेशिक रोजगार व्यवसायीहरूका साथै विदेशमा रहेका केही अन्तर्राष्ट्रिय व्यक्तित्व, शुभेच्छुक तथा सहयोगी महानुभावहरूबाट सहयोग प्राप्त भएको थियो। विभिन्न क्षेत्रबाट प्राप्त यस सहयोगले विपद्को समयमा मानवीय एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। उक्त सहयोग रकमको चेक संघका अध्यक्ष श्री डिकबहादुर खत्रीद्वारा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, घटक संस्थाका प्रतिनिधि तथा संघमा आबद्ध व्यवसायीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

CSR संयोजक तथा कोषाध्यक्ष धनमाया सिंजालीले राहत अभियानमा सहयोग पुर्याउनुहुने संघमा आबद्ध सम्पूर्ण व्यवसायी, अन्तर्राष्ट्रिय व्यक्तित्व, शुभेच्छुक तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। विपद्को यस कठिन घडीमा संघका महासचिव हरि डाँगी ले “बाढी–पहिरो पीडितका लागि प्राप्त यो सहयोग केवल आर्थिक योगदान मात्र होइन, नेपाल वैदेशिक रोजगार व्यवसायी हरु एकजुट छ भन्ने मानवीय भावना र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण हो।” भन्नुभयो I