युक्रेनको रेलवे स्टेसनमा रुसद्धारा ड्रोन प्रहार १४ जनाको मृत्यु

युक्रेनको मध्य सहर निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

मानिसहरू रेल चढ्न पर्खिरहेका बेला रुसले जेट इन्जिनयुक्त ड्रोनले आक्रमण गरेको हो।

निप्रोपेट्रोभस्क क्षेत्रीय प्रमुख ओलेक्सान्डर हान्झाका अनुसार आक्रमणमा १४ जना मारिनुका साथै ११ वर्षीय बालकसहित कम्तीमा १४ व्यक्ति घाइते भएको अल जजिराले जनाएको छ ।

युक्रेनको सरकारी रेलवे सञ्चालक संस्था उक्रजालिज्नित्सियाले जनाएअनुसार ड्रोन आक्रमण हुँदा दक्षिणी सहर जापोरिझियातर्फ गइरहेको एउटा यात्रुवाहक रेल निप्रोको प्लाटफर्ममा रोकिएको थियो।

रुसी सेनाले यस विषयमा अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन। रुसले युक्रेनको विशाल रेलवे सञ्जाललाई बारम्बार निसाना बनाइरहेको छ। तर जानाजान सर्वसाधारणलाई निसाना नबनाइएको दाबी उसले गरेको छ।

रेलवे सञ्चालक संस्थाका प्रमुख ओलेक्सान्डर पेर्टसोभ्स्कीका अनुसार हिजो बिहीबार भएको उक्त आक्रमणअघि निप्रोमा उच्च सुरक्षा सतर्कता घोषणा गरिएको थियो।

उनले भने, ‘तर दुर्भाग्यवश, ड्रोन खस्दा पनि प्लाटफर्ममा ठुलो संख्यामा मानिसहरू उपस्थित थिए।’