बाढीपहिरो पीडितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने नेपाली नागरिक तथा विदेशी पर्यटकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्पोरेशनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। विपत्तिका कारण आफ्नो परिवार, घर तथा सम्पत्तिसमेत गुमाउन पुगेका नागरिकको पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत र सहयोग आवश्यक रहेको कर्पोरेशनले जनाएको छ।

पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्पोरेशनले आफ्नोतर्फबाट ५० लाख रुपैयाँ तथा कर्मचारीहरूको तलबबाट संकलित १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो। उक्त सहयोगलाई कर्पोरेशनले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगका रूपमा अघि बढाएको जनाएको छ।

बाढीपहिरोका कारण कतिपय परिवारले आफन्त गुमाएका छन् भने धेरै नागरिक घरबारविहीन तथा आधारभूत आवश्यकताबाट समेत वञ्चित हुन पुगेका छन्। यस्तो पीडादायी अवस्थामा पीडित परिवारको घाउमा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले सहयोग गरिएको कर्पोरेशनको भनाइ छ। प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत सहयोग पुर्‍याइरहेको कर्पोरेशनले जनाएको छ।

कर्पोरेशनले विपद्को यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको जीवनरक्षा, राहत र पुनःस्थापनाका लागि भइरहेका प्रयासमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

बाढीले घर मात्र बगाएको छैन, धेरै परिवारका सपना र जीवनका आधारसमेत उजाडिएका छन्। यस्तो कठिन समयमा राज्यसँगै निजी क्षेत्र र सामाजिक संस्थाहरूले देखाउने सहयोग र मानवीय संवेदनाले पीडित परिवारमा आशाको किरण जगाउन सक्छ। साल्ट ट्रेडिङको यो सहयोगले विपत्तिमा परेका नागरिकलाई तत्काल राहतसँगै आफूहरू एक्ला छैनौँ भन्ने भरोसा दिलाउने अपेक्षा गरिएको छ।

बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कर्पोरेशनले बेपत्ता नागरिकको सकुशल खोजी तथा उद्धार सफल होस् र प्रभावित परिवारले छिट्टै सुरक्षित र सामान्य जीवनतर्फ फर्किन सकून् भन्ने कामनासमेत गरेको छ।