श्रीकृष्ण जन्माष्टमी आज, भक्तिभावमा देशभर मनाइँदै

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

“गोकुल नाथाय नमः”

केवल आठ अक्षरको यस मन्त्रको जाप गर्नाले कृष्णसँगको निकटता बढेर जाने बताइएको छ ।

भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी आज शुक्रबार देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।

यस वर्ष जन्माष्टमी भदौ १९ गते  परेको छ। नेपालमा यो दिन सार्वजनिक बिदासमेत रहेको छ।

हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई पूजा–आराधना गर्दै जन्माष्टमी मनाउने गर्छन्।

विशेषगरी भक्तजनले दिनभर उपवास बस्ने, कृष्ण मन्दिरमा पुगेर पूजा, भजन–कीर्तन तथा दीप प्रज्वलन गर्ने र मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउने परम्परा छ।

काठमाडौंको पाटनस्थित कृष्ण मन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुँदैछन्।

पञ्चाङ्गअनुसार काठमाडौंमा  राति ११ः४० बजेदेखि  बिहान १२ः२६ बजेसम्म निशिता पूजाको समय रहेको छ।

श्रीकृष्ण जन्माष्टमीलाई धर्म, सत्य, प्रेम, कर्तव्य र सदाचारको सन्देश दिने पर्वका रूपमा पनि लिइन्छ। भगवान् कृष्णले भगवद्गीतामार्फत दिएको कर्म, सत्य र धर्मको मार्ग आज पनि जीवनका लागि प्रेरणादायी मानिन्छ।

जन्माष्टमीका अवसरमा देशका विभिन्न स्थानमा कृष्णका बालरूपका झाँकी, भजन–कीर्तन, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।

भक्तजनहरूले कृष्णलाई मनपर्ने माखन, दूध, दही, फलफूल तथा विभिन्न प्रसाद अर्पण गरी पूजा गर्ने गरेका छन्।

यसैबीच, आजै गौरा पर्व पनि परेको छ। त्यसैले देशका विभिन्न क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधि थप उल्लासमय बनेका छन्।

नीति 365को सन्देश:
श्रीकृष्ण जन्माष्टमीले समाजमा सत्य, सद्भाव, प्रेम, सहिष्णुता र कर्तव्यनिष्ठाको भावना अझ बलियो बनाओस्। सम्पूर्ण नेपालीमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।