नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ मा पुरुषतर्फ चन्द्रबहादुर थापा र महिलातर्फ करातेकी एरिका गुरुङ वर्ष खेलाडी बन्न सफल भएका छन्।
मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको पल्सर स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको अवार्ड चन्द्र र एरिकाले जित्न सफल भएका हुन्। २०८२ सालमा गरेको प्रदर्शनलाई आधार मानेर मञ्चले अवार्ड प्रदान गरेको हो।
वर्ष महिला खेलाडी अवार्डमा एरिकाले ‘ह्याट्रिक’ गरेकी हुन्। पल्सर स्पोर्टस् अवार्डअन्तर्गत महिला खेलाडीमा ‘ह्याट्रिक’ गर्ने उनी पहिलो खेलाडी हुन्।
एरिकाले मोरक्कोको रावतमा भएको कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा काश्य पदक, टर्कीको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, चीनमा सम्पन्न डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लूकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जित्न सफल भएकी थिइन्।
वर्ष महिला खेलाडीको मनोनयनमा करातेकी एरिकासँगै सानुमाया थिङ र सविना श्रेष्ठ तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका थिए।
पिपुल्स च्वाइस अवार्डमा भलिबलकी मिना सुनारले बाजी मारिन्। मिनाले कुल मतको २९।०४ प्रतिशत भोट पाएकी थिइन्। दोस्रो भएका रविन्द्र ढाँटले २४।५३ प्रतिशत मत पाएका थिए।
यो विधामा मिक्स मार्सल आर्टस्का रविन्द्र ढाँट, भलिबलकी मिना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल परेका थिए।
वर्ष प्रशिक्षकको अवार्ड करातेका कुशल श्रेष्ठले प्राप्त गरेका छन्। श्रेष्ठ एरिकाले कराते वान प्रिमियर लिगमा कास्य, टर्कीको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लूकेएफ कराते वान सिरिजमा स्वर्ण र चीनमा रजत पदक जित्दाका प्रशिक्षक हुन्।
यस्तै २३औं क्याडेट, जुनियर तथा यू(२१ कराते च्याम्पियनसिप, चीनमा रेहान जाबेद र मनिषा बोहोराले काश्य जित्दा पनि उनी प्रशिक्षक रहेका थिए। यस्तै सविना श्रेष्ठ र पुष्पकला लामाले श्रीलंकामा भएको नवौं साफ कराते च्याम्पियनसिपमा फाइट र टिम कुमितेमा स्वर्ण पदक जित्दा पनि श्रेष्ठ नै प्रशिक्षक थिए।
वर्ष प्रशिक्षकको मनोनयनमा बक्सिङका दीपक महर्जन, करोतका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ तथा क्रिकेटका स्टुआर्ट ल र नेत्रहिन महिला क्रिकेटका पुरनसिंह खत्री मनोनयनमा परेका थिए।
पारा एथलिट अफ द इयरको अवार्ड क्रिकेटकी सुष्मा तामाङले प्राप्त गरिन्। गत वर्ष भारत र श्रीलंकामा भएको महिला टी–२० क्रिकेटमा सुष्माले ११४ रन बनाएकी थिइन् भने दुई विकेट पनि लिएकी थिइन्।
वर्ष युवा खेलाडीको अवार्ड करातेकी मनिषा बोहोराले प्राप्त गरेकी छन्। मनिषाले २३औं क्याडेट, जुनियर तथा यू(२१ कराते च्याम्पियनसिपमा काश्य पदक, श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण र ५६औं राष्ट्रिय कराते च्याम्पियनसिपको ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्।
यो विधामा बक्सिङका अर्पिल राना, करातेका रेहान जावेद, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव मनोनयनमा परेका थिए।
एनएसजेएफ पल्सर स्पेशल अवार्ड करातेका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई दिइएको छ। मल्ल बालाजु कराते डो प्रतिष्ठान सञ्चालन गर्दै आइरहेका छन्।
लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कुमार मोहन बहादुर शाही सम्मानित भएका छन्। शाही ब्याडमिन्टन र टेनिसका पूर्व खेलाडी समेत हुन्।
८३ वर्षका शाहीले नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै मञ्चले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो। एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड भने भारतका सभानायकनले प्राप्त गरे।
