पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरिफले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री शरिफले इस्लामाबादस्थित नेपाली राजदूतावास पुगेर नेपालका लागि नेपाली राजदूत रीता धितालसँग भेटवार्ता गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
नेपालमा आएको विनाशकारी बाढीबाट अमूल्य मानवीय जीवन गुम्नुका साथै ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शरिफले यस दुःखद घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल र नेपाली जनताको साथमा रहेको सन्देश दिएका छन्।
भेटका क्रममा प्रधानमन्त्री शरिफले बाढी तथा विपद्बाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरेका थिए।
