बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग 

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् ।

बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सो रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।

पीडितको लागि रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरूको १० दिनको पारिश्रमिक, कर्मचारी तथा शिक्षकहरूको तोकिएबमोजिमको रकम र प्रकोप व्यवस्थापन कोष समेतबाट गरी सबैभन्दा बढी ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।

गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधिहरूको १० प्रतिशत पारिश्रमिक ३९ हजार ३५० र गाउँपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरूको तलब योगदान २० लाख ६७ हजार १२० गरी कुल रु. २२ लाख ६ हजार ४ सय ७० कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यसका साथै गाउँपालिकाले आफ्नै क्षेत्रभित्रका बेपत्ता नागरिकका पीडित परिवारलाई खोजतलास खर्चका लागि प्रतिपरिवार रु. २५ हजारका दरले अलग्गै राहत दिनेसमेत जनाएको छ ।

खाँडादेवी गाउँपालिका ः गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख सहयोग गर्ने निर्णय गरेको छ । साथै अधिकृत, सहायक र सहयोगी कर्मचारीहरूको १ देखि ५ दिनसम्मको तलब संकलन गरी थप रकमसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सुनापति गाउँपालिकाले बाढीपीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र २ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

चारै स्थानीय तहले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

साथै, बेपत्ताहरूको शीघ्र खोजी, घाइतेहरूको उपचार तथा विपद्को यस कठिन परिस्थितिमा सबै पक्षलाई उच्च सतर्कता अपनाउन र सहयोगमा जुट्न अपिलसमेत गरेका छन् ।