काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि उकालो लागेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार अगस्टमा खाद्यान्नको मूल्य सूचकांक १३३.३ अंक पुगेको छ । यो जुलाईको तुलनामा १.९ प्रतिशत र एक वर्षअघिको तुलनामा २.५ प्रतिशत बढी हो । यो सन् २०२२ को अन्त्ययताकै उच्च स्तर हो ।
एफएओका अनुसार खाद्यान्नको मूल्य वृद्धिको प्रभाव पाँचवटै प्रमुख वस्तु समूहमा देखिएको छ । चरम मौसम, भूराजनीतिक तनाव तथा व्यापार र ढुवानी प्रणालीमा देखिएका अवरोधले विश्वका प्रमुख कृषि उत्पादनको आपूर्ति जोखिम बढाइरहेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले पनि मौसमजन्य जोखिमका कारण खाद्य मूल्य पुनः बढ्न थालेको बताएका छन् । उनका अनुसार अगस्टमा विश्व खाद्य वस्तुको मूल्य सूचकांक बढ्नुमा उच्च तापक्रम तथा अन्य मौसमजन्य जोखिमले आपूर्तिबारे बढाएको चिन्ता प्रमुख कारण हो ।
चिनीको मूल्यमा सबैभन्दा ठूलो वृद्धि
एफएओको तथ्यांकअनुसार अगस्टमा चिनी मूल्य सूचकांक सबैभन्दा धेरै बढेको छ । चिनीको मूल्य एक महिनामा ११.९ प्रतिशतले बढ्दै सन् २०२५ को जुनयताकै उच्च स्तरमा पुगेको हो । सन् २०२६÷२७ को उत्पादन मौसममा विश्वव्यापी चिनी आपूर्तिबारे बढ्दो चिन्ताका कारण मूल्य बढेको एफएओले जनाएको छ । युरोपेली संघ र एसियाका केही क्षेत्रमा अत्यधिक गर्मी तथा सुख्खा मौसम, ब्राजिलमा चिनी उत्पादन घट्ने सम्भावना तथा भारतले शुल्करहित कच्चा चिनी आयात गर्न दिने निर्णयले पनि मूल्य वृद्धिमा योगदान गरेको छ ।
गहुँ र मकैको मूल्य पनि बढ्यो
अगस्टमा खाद्यान्न अर्थात् अन्नबालीको मूल्य सूचकांक २.२ प्रतिशतले बढेको छ । यो सन् २०२४ को मेयताकै उच्च स्तर हो । गहुँको मूल्य २.६ प्रतिशतले बढेको छ । कृष्णसागर क्षेत्रबाट हुने निर्यात तथा ढुवानीमा निरन्तर अवरोध, युरोपका केही क्षेत्रमा गर्मी र सुख्खाका कारण उत्पादन घट्ने अनुमान तथा अमेरिकी डलर कमजोर हुनु यसको प्रमुख कारण बनेका छन् ।
त्यस्तै, मकैको मूल्य २.५ प्रतिशतले बढेको छ । अमेरिका र युरोपेली संघका केही क्षेत्रमा उत्पादन घट्ने चिन्ता, इथानोल तथा पशु आहार उद्योगको बलियो माग र युक्रेनबाट हुने निर्यातमा आएको अवरोधले मकैको मूल्य बढाएको एफएओले जनाएको छ ।
वनस्पति तेलको मूल्य सूचकांक पनि ०.६ प्रतिशतले बढेको छ । यो लगातार तेस्रो महिनाको वृद्धि हो र सन् २०२२ को जुनयताकै उच्च स्तरमा पुगेको छ । मासुको मूल्य १ प्रतिशत र दुग्धजन्य पदार्थको मूल्य २.३ प्रतिशतले बढेको छ । दुग्धजन्य पदार्थको मूल्य चार महिनापछि पहिलोपटक बढेको हो ।
उत्पादन उच्च रहे पनि जोखिम बढ्दो
खाद्यान्नको मूल्य बढे पनि अगस्टको एफएओ खाद्य मूल्य सूचकांक सन् २०२२ को मार्चमा कायम भएको कीर्तिमानी स्तरभन्दा अझै १६.८ प्रतिशत कम छ । एफएओले सन् २०२६ को विश्वव्यापी अन्न उत्पादनको अनुमान जुलाईको तुलनामा ३४ लाख टनले घटाएको छ । यद्यपि कुल उत्पादन ऐतिहासिक रूपमा उच्च रहने अनुमान गरिएको छ ।
एफएओका अनुसार सन् २०२६ मा विश्वको अन्न उत्पादन करिब २.९८ अर्ब मेट्रिक टन पुग्ने अनुमान छ । यो अहिलेसम्मकै दोस्रो ठूलो उत्पादन भए पनि गत वर्षको तुलनामा करिब २ प्रतिशत कम हो ।
सन् २०२६÷२७ को अन्त्यसम्म विश्वव्यापी अन्न मौज्दात ९४७.२० मिलियन टन पुग्ने प्रक्षेपण गरिएको छ, जुन यसअघिको अनुमानभन्दा १.१ प्रतिशत कम हो । जलवायु परिवर्तनजन्य जोखिम, क्षेत्रीय द्वन्द्व र ढुवानीमा देखिएका अवरोधका कारण विश्व खाद्य बजारमा अनिश्चितता बढ्दै गएको एफएओले जनाएको छ ।
उत्पादन उच्च रहे पनि आपूर्ति शृंखलामा आउने अवरोधले आगामी दिनमा खाद्य मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । सीसीटीभी
