बाढी प्रभावित नेपाललाई पाकिस्तानद्वारा १०० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं । पाकिस्तानले विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको सहयोगका लागि १०० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।

बाढी तथा पहिरो प्रभावितका लागि पठाइएको राहत सामग्री आज काठमाडौं आइपुगेको हो। राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, स्वास्थ्य तथा सरसफाइ सामग्री र औषधिलगायतका आवश्यक सामग्री रहेका छन्।

नेपालका लागि पाकिस्तानी राजदूत आमिर खानले उक्त राहत सामग्री नेपाल सरकारका मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्। राहत सामग्री हस्तान्तरण गर्दै राजदूत खानले विपद्को यस कठिन घडीमा पाकिस्तान नेपाल र नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताए।

राजदूत खानले नेपालका बाढी तथा पहिरो प्रभावित नागरिकप्रति पाकिस्तानको समर्थन र ऐक्यबद्धता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। उनले कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनतालाई आवश्यक सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको समेत बताए।

पाकिस्तानले बाढी तथा पहिरोमा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक पर्ने सम्भव भएसम्मको सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।