३ हजार ९६७ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ ।

नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत पाँच जनाको उद्धार गरेको छ । हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हजार ९६७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्यलाई तीव्रता दिएको छ ।

टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।

रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ ।

त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङमा नेपाली सेनाका आठ जनाको टोली उद्धार उपकरणसहित खोज तथा उद्धार कार्यमा निरन्तर खटिएको छ ।

त्रिशूली–३ बी आयोजनामा अडिट–२ बाट प्रवेश गरेको नेपाली सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ । साथै, अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटो सफा गर्ने कार्य भइरहेको छ ।

चिलिमे हाइड्रोपावर आयोजनामा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ ।

टोली पावरहाउसबाट करिब ५०–६० मिटरको दूरीसम्म पुगेको छ । यस्तै, स्याफ्रुबेंसीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर झारेर सुरुङ क्षेत्रमा लैजाने कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ ।

प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेंसीसम्म नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य जारी राखेको छ ।

सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

यसैबीच, नेपाली सेनाले २० वटा अक्सिजन सिलिन्डर हवाई साधनमार्फत त्रिशूली पु-याएको जनाएको छ ।