स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।

एकीकरणपछि संस्थाको चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ, शाखा संख्या ११२ र सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी पुगेको छ। त्यस्तै, कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ र बचत ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ।

दुई संस्थाको एकीकरणपछि पूँजी, पहुँच तथा सञ्चालन क्षमता थप मजबुत हुने र ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।