कर्मचारी दक्षता बढाउन इन्फिनिटी लघुवित्तको पहल

काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा संस्थागत नीति, प्रक्रिया र अनुपालनसम्बन्धी ज्ञानलाई थप प्रभावकारी बनाउने उद्देश्यले पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले २०८३ भदौ २० र २१ गते देशभरका १५ वटा स्टेशनमार्फत १०२ वटा शाखा कार्यालयमा कार्यरत ३४३ जना कर्मचारीलाई सहभागी गराउँदै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा शाखा प्रमुखदेखि फिल्ड सहायकसम्मका कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने सम्बन्धित अनुगमन अधिकृतहरूले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

तालिमका क्रममा संस्थाको कर्जा तथा बचत नीति, असुली नीति, कार्यान्वयनका प्रमुख प्रावधान, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्वलगायतका विषयमा कर्मचारीलाई पुनर्ताजगी गराइएको थियो । साथै, शाखा तथा कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या, तिनका समाधानका उपाय तथा कार्यप्रणालीमा आवश्यक सुधारका विषयमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनका प्रमुख प्रावधान, संस्थाका आन्तरिक परिपत्र तथा तिनको प्रभावकारी कार्यान्वयनका विषयमा समेत जानकारी तथा मार्गदर्शन प्रदान गरिएको थियो । कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपनाउनुपर्ने संस्थागत प्रक्रिया, नीति तथा अनुपालनसम्बन्धी आवश्यक जानकारी प्राप्त गरेका थिए ।

त्यसैगरी, दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने, कार्यप्रणालीमा एकरूपता कायम गर्ने तथा संस्थागत नीतिको व्यवहारिक कार्यान्वयन गर्ने विषयमा समेत कर्मचारीलाई मार्गदर्शन दिइएको थियो ।

तालिममा सहभागी कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गर्न पाउँदा कार्यक्रम उपयोगी र व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन् । नीति तथा अनुपालनसम्बन्धी जिज्ञासा समाधान हुनुका साथै दैनिक कार्यसम्पादनमा थप स्पष्टता र प्रभावकारिता ल्याउन कार्यक्रमले सहयोग गर्ने उनीहरूको विश्वास छ ।

विशेषगरी कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या र त्यसको समाधानका विषयमा खुला छलफल हुँदा कर्मचारीमा आत्मविश्वास तथा जिम्मेवारीबोध बढेको संस्थाले जनाएको छ ।

देशभरका १५ वटा स्टेशनमार्फत १०२ शाखामा कार्यरत ३४३ कर्मचारीलाई समेटिएको उक्त कार्यक्रमले संस्थागत सुशासन, नीति तथा अनुपालनमा स्पष्टता, जिम्मेवार सेवा प्रवाह र कार्यप्रणालीमा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, व्यावहारिक समस्या, समाधानका उपाय तथा कार्यप्रणाली सुधारबारे गरिएको अन्तरक्रियाले कर्मचारीको कार्यसम्पादन र संस्थाको समग्र प्रभावकारिता बढाउन योगदान पुग्ने विश्वास गरिएको छ ।