कुलेश्वरका विद्यार्थीलाई कामना सेवाको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ ।

बैंकको शाखा कार्यालय कुलेश्वरमार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई पठनपाठनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको हो ।

बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीलाई उक्त शैक्षिक तथा आवश्यक सामग्री हस्तान्तरण गरेका थिए । बैंकले विद्यार्थीहरूको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामग्री, विद्यालय झोला, विद्यालय पोसाक तथा हाउस पोसाक, जुत्ता लगायतका आवश्यक सामग्री वितरण गरेको जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले यस्ता सहयोगले आर्थिक अभावका कारण अध्ययनका लागि आवश्यक सामग्री जुटाउन कठिनाइ भोगिरहेका विद्यार्थीलाई थप हौसला मिल्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताए । आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको नियमित पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।