काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त रकम खिच्ने क्रमलाई निरन्तरता दिएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज भदौ २४ गते बैंकिङ प्रणालीबाट थप ५५ अर्ब रुपैयाँ खिच्न लागेको हो ।
यसअघि गत सोमबार पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ बजारबाट खिचेको थियो । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले त्यसलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो ।
राष्ट्र बैंकका अनुसार आज हुने निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ । उक्त प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।
बोलकबोल राष्ट्र बैंकको अनलाइन बोलपत्र प्रणालीमार्फत आज अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् । आवेदन रकम १० करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले यसपटक ५६ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो । उक्त अवधिको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्दै वित्तीय प्रणालीमा रकमको सन्तुलन कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्दै आएको छ ।
