बाढीपीडितलाई आइसीएफसीको साथ

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै फाइनान्सले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

फाइनान्सले सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल खोजी तथा उद्धार हुन सकोस् भन्ने कामनासमेत गरेको छ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार, सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको फाइनान्सले जनाएको छ।

आइसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको साथमा रहँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार