‘विश्वमै दुर्लभ घटना’- भोटेकोसी बाढीलाई अर्कै नाम

सरकारले भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोटेकोसी बाढी सामान्य रूपमा आउने प्राकृतिक बाढी नभएका कारण यसको छुट्टै नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो।

समितिले भोटेकोसी बाढीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ।

ऊर्जा मन्त्रालयअन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा आएका छन्।

जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च ल्यान्ड स्लाइड, रसुवा भोटेकोसी महाविपत्‌लगायत नाम प्रस्ताव गरिएका छन्।

‘यो विश्वमै दुर्लभ घटना हो। यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न सकिँदैन। यो जलवायु विपद्को सबै वैज्ञानिक आधार र प्रमाण संकलन गरिसकेपछि उपयुक्त नामकरण गरिनेछ’, बरालले भने।