सन नेपाल लाइफको ‘स्मार्ट सुरक्षा’ योजना

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर ‘सन स्मार्ट प्रोटेक्सन इन्स्योरेन्स प्लान’ सार्वजनिक गरेको छ। नागरिक तथा परिवारको आर्थिक सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले कम्पनीले नयाँ बीमा योजना ल्याएको हो।

कम्पनीले असोज १ गते आयोजना गरेको विशेष कार्यक्रमबीच प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालसहित उच्च व्यवस्थापन तहका अधिकारीहरूको उपस्थितिमा उक्त बीमा योजनाको औपचारिक शुभारम्भ गरेको हो।

नयाँ बीमा योजना १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ। कम लागतमा पर्याप्त आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको यो योजनाले पेसागत तथा पारिवारिक आर्थिक जिम्मेवारी वहन गर्ने व्यक्तिलाई लक्षित गरेको छ।

योजनाअन्तर्गत बीमितले न्यूनतम १० लाख रुपैयाँ बीमाङ्क छनोट गर्न सक्नेछन्। अधिकतम बीमाङ्क भने प्रस्तावकको आम्दानीको स्रोतका आधारमा निर्धारण हुने कम्पनीले जनाएको छ।

बीमालेखको शुल्क भुक्तानीमा पनि ग्राहकलाई सहजता प्रदान गरिएको छ। बीमितले आफ्नो सुविधाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत बीमितको मृत्यु भएको अवस्थामा कुल बीमाङ्कको शतप्रतिशत रकम लाभग्राहीलाई भुक्तानी गरिनेछ। बीमालेखमा उल्लेखित सर्तअनुसार बीमितको मृत्यु भएमा तोकिएको लाभग्राहीले सम्पूर्ण बीमाङ्क प्राप्त गर्नेछन्।

योजनामा थप सुरक्षा सुविधा पनि वैकल्पिक रूपमा उपलब्ध गराइएको छ। बीमितले अधिकतम ५० हजार रुपैयाँसम्मको अन्त्येष्टि खर्च सुविधा लिन सक्नेछन्। त्यस्तै, ‘सन मेडिकेयर’अन्तर्गत अधिकतम १ लाख रुपैयाँसम्मको आकस्मिक स्वास्थ्य सेवा सुविधा पनि वैकल्पिक रूपमा लिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ बीमा योजनालाई प्रविधिमैत्री बनाउँदै डिजिटल माध्यमबाट समेत सहज रूपमा खरिद गर्न सकिने व्यवस्था गरेको छ। ग्राहकले कम्पनीका शाखा कार्यालयबाट बीमालेख खरिद गर्न सक्नेछन् भने कम्पनीको वेबसाइट www.sunlife.com.np तथा ‘सन कनेक्ट’ मोबाइल अनुप्रयोगमार्फत पनि बीमा लिन सक्नेछन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २०७४ साल असोज ६ गते दर्ता भएको हो। डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै जीवन बीमा सेवा विस्तार गरिरहेको कम्पनीले ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र प्राप्त गरेको छ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ।

सन नेपाल लाइफले हाल देशभर ४० हजारभन्दा बढी सक्रिय अभिकर्ता तथा १३६ वटा शाखा र उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

नयाँ ‘सन स्मार्ट प्रोटेक्सन’ योजनामार्फत ग्राहकलाई सहज शुल्क भुक्तानी, पर्याप्त बीमा सुरक्षा तथा थप वैकल्पिक सुविधासहित आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।