स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र मन्त्रीहरुको गृह जिल्लाबाहेक अन्य जिल्लालाई लिजमा दिनुपर्ने बताएपछि संसदमा रडाको मच्चिएको छ ।
सत्तारुढ एमालेका सांसदले उक्त अभिव्यक्तिको विरोध गरेका छन् । प्रभावशाली व्यक्तिको निर्वाचन क्षेत्रमा एकलौटी बजेट खन्याउने प्रवृत्तिमाथि गरेको कटाक्षपूर्ण टिप्पणीको विरोधमा एमाले सांसद महेश बर्तौलाले सिंहमाथि कारवाही माग गर्नुभयो ।
मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदै सांसद सिंहले प्रधानमन्त्री र मन्त्रीहरुको जिल्लामा मात्रै ठूला योजना पारेको बताउनुभयो ‘उपप्रधान तथा शहरी विकासमन्त्रीज्यूको जिल्लामा १३० भन्दा बढी योजना परेका छन्, तर मेरो जिल्लामा २० वटा पनि परेको छैन’, उहाँले भन्नुभयो, ‘योजनाहरु कि सुदूरपश्चिम (डडेल्धुरा) पुगेका छन्, कि पूर्व (झापा)तिर पुगेका छन्, केही मन्त्रीहरुको जिल्लालाई मात्रै नेपालमा राखौँ, अरु जिल्लालाई लिजमा दिए पनि हुन्छ ।’
सांसद सिंहले यसो भनिरहँदा बर्तौलाले आपत्ति जनाउनुभयो । र, सो अभिव्यक्ति राष्ट्रघाती भएको दाबी गर्नुभयो ।