ईसेवाबाटै २ लाखसम्मको डिजिटल कर्जा, ३६ महिनामा किस्ता तिर्न सकिने

  • Clock icon
    २०८३ आश्विन १५, बिहीबार

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो प्लेटफर्ममार्फत ‘अहिले किन्ने, पछि भुक्तानी गर्ने’ (बाइ नाउ, पे लेटर) सुविधा सुरु गरेको छ। यस सुविधाअन्तर्गत ग्राहकले ईसेवा एपमार्फत जायर (Gyaro) ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्न डिजिटल कर्जा प्राप्त गर्न सक्नेछन्।

उक्त सेवा सञ्चालनका लागि असोज ८ गते ईसेवाको केन्द्रीय कार्यालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतामा ईसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेस्टमेन्टका प्रतिनिधि मनन तुलाधरले हस्ताक्षर गरेका छन्।

यस सहकार्यमा ईसेवाले डिजिटल भुक्तानी तथा कर्जा आवेदन प्रक्रियाका लागि आवश्यक प्रविधिगत पूर्वाधार उपलब्ध गराउनेछ। रिलायन्स फाइनान्स लिमिटेडले योग्य ग्राहकलाई आवश्यक कर्जा उपलब्ध गराउने वित्तीय साझेदारका रूपमा काम गर्नेछ भने परिमिता इन्भेस्टमेन्ट प्रालिले जायर ब्रान्डका विद्युतीय स्कुटरको आधिकारिक वितरकका रूपमा स्कुटर आपूर्ति गर्नेछ।

यस योजनाअन्तर्गत ग्राहकले ईसेवा मोबाइल एपबाट अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याजदर लागू हुनेछ। ग्राहकले लिएको कर्जा अधिकतम ३६ महिनासम्मको अवधिमा मासिक किस्तामार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यस सुविधाको विशेषता भनेको सम्पूर्ण कर्जा आवेदन, आवश्यक कागजात पेस गर्ने प्रक्रिया तथा कर्जा स्वीकृतिको कार्य अनलाइन माध्यमबाटै गर्न सकिने व्यवस्था हो। ग्राहकले कर्जाका लागि भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबिना ईसेवा एपमार्फत नै आवेदन दिन सक्नेछन्।

ईसेवा, रिलायन्स फाइनान्स र परिमिता इन्भेस्टमेन्टबीचको यो सहकार्यले विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकलाई डिजिटल माध्यमबाट किस्ताबन्दीमा भुक्तानी गर्ने विकल्प उपलब्ध गराएको छ। यसबाट डिजिटल कर्जा सेवा र विद्युतीय सवारीसाधन खरिद प्रक्रियालाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्य राखिएको छ।

  • Clock icon
    २०८३ आश्विन १५, बिहीबार