सानेपामा चम्किए नेपाली ब्रान्ड : १ सय ७० स्टलमा ‘मेड इन नेपाल’को उत्सव

काठमाडौं । नेपाली उत्पादन, रैथाने सीप र स्वदेशी ब्रान्डको प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित ‘ब्राण्ड नेपाल–गो लोकल २०२६’ सम्पन्न भएको छ। एकदिने मेलामा नेपाली उत्पादन र उद्यमशीलताको विविधता आकर्षणका रूपमा देखिएको थियो।

रिपब्लिका मिडिया र ‘ब्राण्ड नेपाल’को संयुक्त आयोजनामा भएको मेलामा १ सय ७० भन्दा बढी स्टल राखिएका थिए। नेपाली फेसन, फुटवेयर, हस्तकला, कस्मेटिक्स, कपडा, नेपाली कफी, अचार, छालाका सामग्री, बाँसका उत्पादन, फर्निचर, धातु तथा पत्थरका गरगहना र पस्मिनालगायत स्वदेशी उत्पादन प्रदर्शन तथा बिक्रीमा राखिएका थिए।

स्थानीय स्टार्टअप, साना तथा मझौला उद्यमी र सामाजिक उद्यमीका उत्पादनसमेत मेलामा विशेष आकर्षण बने। नेपाली उत्पादनलाई सीधै उपभोक्तासँग जोड्ने, बजार विस्तार गर्ने तथा ‘मेड इन नेपाल’ ब्रान्डप्रति विश्वास बढाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

मेलामा नेपाली उपभोक्तासँगै विभिन्न देशका राजदूत तथा दूतावासका प्रतिनिधिहरूको समेत सहभागिता र अवलोकन रहेको थियो। उनीहरूको उपस्थितिले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने अवसरसमेत सिर्जना गरेको आयोजकको भनाइ छ।

आयोजक रिपब्लिका मिडियाकी सञ्चालक तथा नेपाल महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको प्रवर्द्धन र स्वदेशी ब्रान्डप्रति जनविश्वास बढाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताइन्।

स्वदेशी उत्पादनको खपत बढाउने र नेपाली ब्रान्डलाई स्थापित गर्ने उद्देश्यसहित रेडियो नागरिक ९६।५ मेगाहर्जले सन् २०१८ देखि ‘ब्राण्ड नेपाल’ अभियान सुरु गरेको थियो। सुरुवातदेखि नै अभियानले नेपाली उद्यमीलाई आफ्ना उत्पादन चिनाउने र उपभोक्तासँग जोड्ने मञ्च प्रदान गर्दै आएको छ।

सानेपाको हेरिटेज गार्डेनमा सम्पन्न ‘ब्राण्ड नेपाल–गो लोकल २०२६’ ले नेपाली उत्पादनसँगै सीप, श्रम, सिर्जना र उद्यमशीलताको कथा पनि प्रस्तुत गरेको थियो।