चिनियाँ राजदूत चाङ माओमिङसहित ७ सदस्यीय टोली मुस्ताङ

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित ७ सदस्यीय टोली कोरलानाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्।

नेपालको उत्तरी सीमा नाका बाढी र पहिरोका कारण अवरुद्ध भएपछि त्यसतर्फको नाका सञ्चालनमा ल्याउने पहल भइरहेको छ।

यसअघि चिनियाँ दुतावासकै पहलमा सरकारी अधिकारीहरु सहितको टोलीले सिन्धुपाल्चोकको तातोपानी नाकासम्मको सडकमार्गको अवलोकन गरेको थियो।

त्यसपछि उनीहरुले मुस्ताङको कोरोला नाकासम्मको अवस्था पनि अवलोकन गरेर कहाँको नाका सञ्चालनमा ल्याउने भन्ने निर्णय हुने बताएका थिए।

राजदूत चाङ माओमिङ कोरलाना नाकाको अवस्था बारे जानकारी लिने उद्देश्यले उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका हुन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै मुस्ताङ पुगेको जानकारी दिइन्। ‘चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,’ शर्माले भनिन, ‘चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उहाँ कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ ।’

यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नेपालका लागि चिनियाँ राजदूत तीनदिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ पुगेका हुन् ।

चीनियाँ राजदूतसहित ५ जना चिनियाँ टोली र २ जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी उक्त टोलीमा रहेका छन्। । कोरला नाका हुँदै मुस्ताङ पुगेको उक्त टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको प्रहरी निरीक्षक बस्यालले बताए। उक्त टोली लोमान्थाङबाट जोमसोम आउने कार्यक्रम रहेको छ।

जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका समकक्षीबीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी रहेको बताइएको छ।

कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम आइसकेपछि बैठक सकेर चिनियाँ राजदुत आज पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरलानाका हुँदै चीन फर्किने योजना छ।

नेपाल(चीन उत्तरी कोरलानाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण यो नै पहिलो भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

कोरलानाकालाई पूर्ण रुपमा खोल्न र कोरलानाकाको समग्र वस्तुस्थितिको अनुगमनका लागि चिनियाँ राजदूत मुस्ताङ आएको उनले बताए।

गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी(केरुङ नाका पूर्ण रुपमा बन्द छ। यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द अवस्थामा छ।