काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई नेतृत्व र पद व्यवस्थापनमा मात्र सीमित नराखी पार्टीको आत्मसमीक्षा, आत्मसुधार, पुनर्जागरण र पुनर्निर्माणको अवसर बनाउनुपर्ने बताएकी छन्।
काठमाडौंको खुलामञ्चमा आइतबार आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लामो लोकतान्त्रिक संघर्षबाट स्थापित कांग्रेसले आफ्नो वर्तमान अवस्था र भविष्यबारे गम्भीर चिन्तन तथा संवाद गर्नुपर्ने धारणा राखिन्।
उनले महाधिवेशन कांग्रेसका नेता–कार्यकर्ताको मात्र नभई लोकतान्त्रिक विचारमा विश्वास गर्ने सबैका लागि आत्मसमीक्षा गर्ने थलो बन्नुपर्ने बताइन्। जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै नयाँ पुस्ताका अपेक्षा सम्बोधन गर्न पार्टीले आफ्ना नीति, कार्यशैली र संगठनबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।
भुसालले महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्दै पार्टीलाई थप लोकतान्त्रिक, समावेशी र सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन्। महिलाको नेतृत्वदायी सहभागिता तथा नयाँ पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्ने विषयसमेत उनले उठाएकी छन्।
उनका अनुसार महाधिवेशनपछि कांग्रेसले जनतामाझ आफ्नो विश्वास थप बलियो बनाउने गरी संगठन र राजनीतिक कार्यदिशालाई अघि बढाउन आवश्यक छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना भइरहेको छ।
