काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मोहमद अमिर खान र स्टार्टअप समिट नेपाल-२०२६ की अध्यक्ष शोभा ज्ञवालीबीच नेपाल–पाकिस्तान सम्बन्धलाई युवा उद्यमशीलता, प्रविधि, सीप तथा नवप्रवर्तनसँग जोड्दै नयाँ अवसर सिर्जना गर्ने विषयमा छलफल भएको छ।
महाराजगञ्जस्थित पाकिस्तानी दूतावासमा भएको भेटवार्तामा राजदूत खानले स्टार्टअप समिट नेपाल-२०२६ लाई आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली युवामा रहेको क्षमता, सिर्जनशीलता र सम्भावनालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। Nepal Startup Summit 2026
राजदूत खानले नेपालका युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने अभियानमा पाकिस्तानले समेत सहकार्य गर्न सक्ने बताए। उनले नेपाली र पाकिस्तानी युवाबीच ज्ञान, सीप, अनुभव तथा उद्यमशीलताको आदान-प्रदानका लागि आवश्यक सहयोग गर्न आफू सकारात्मक रहेको उल्लेख गरे।
भेटमा नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपद् तथा बाढीपहिरोबाट भएको क्षतिप्रति राजदूत खानले दुःख व्यक्त गर्दै विपद् व्यवस्थापन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जोखिम न्यूनीकरणका क्षेत्रमा समेत सहकार्यको आवश्यकता औंल्याए।
उनले सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, जलवायु अनुकूल प्रविधि तथा उद्यमशीलतालाई युवासँग जोडेर अघि बढाउन सके नयाँ रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न सकिने धारणा राखे। नेपाल र पाकिस्तानबीच यी क्षेत्रमा अनुभव तथा प्रविधि आदान-प्रदानको सम्भावना रहेको उनको भनाइ थियो।
राजदूत खानले नेपाली युवाको मेहनत, क्षमता र सिर्जनशीलताको प्रशंसा गर्दै ज्ञान र सीपलाई देश निर्माणमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
भेटमा स्टार्टअप समिट नेपाल-२०२६ की अध्यक्ष शोभा ज्ञवालीले समिटको उद्देश्य र आगामी योजनाबारे जानकारी गराउँदै शिक्षित, दक्ष तथा सिर्जनशील युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने अभियानमा आफूहरू केन्द्रित रहेको बताइन्।
ज्ञवालीले “ज्ञान र सीप आफ्नै मुलुकमा प्रयोग गरौँ” भन्ने भावनाका साथ अघि बढिरहेको अभियानले युवालाई उद्यमशीलता, प्रविधि, लगानी, बजार र आत्मनिर्भरतासँग जोड्ने लक्ष्य राखेको बताइन्। स्टार्टअपलाई केवल व्यवसाय नभई युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई राष्ट्रिय विकाससँग जोड्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। Nepal Startup Summit 2026
उनले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ पुस्ताको सहकार्यसँग जोड्दै युवा उद्यमशीलता, सूचना प्रविधि, शिक्षा, सीप विकास, जलवायु परिवर्तन तथा व्यवसायिक अनुभव आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताइन्।
समिटले युवालाई विदेश पलायन हुनबाट रोक्ने मात्र नभई उनीहरूको ज्ञान, सीप र सिर्जनशीलतालाई स्वदेशमै अवसरमा रूपान्तरण गर्ने लक्ष्यसहित सातै प्रदेशमा उद्यमशीलता र स्टार्टअपसम्बन्धी कार्यक्रम अघि बढाइरहेको छ। Nepal Startup Summit 2026
भेटवार्तामा नेपाल–पाकिस्तानबीचको सम्बन्धलाई परम्परागत कूटनीतिक सीमाभन्दा बाहिर लैजाँदै युवा, प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको साझेदारीमा जोड दिने सम्भावनाबारे सकारात्मक वातावरण बनेको छ। दुवै पक्षले युवालाई अवसर सिर्जना गर्ने र ज्ञान–सीपलाई आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने दिशामा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
