काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को संस्थागत अस्तित्व, वैधानिक पद्धति र प्रशासनिक संरचनामाथि गम्भीर संकट उत्पन्न भएको भन्दै महासंघले कडा प्रेस वक्तव्य सार्वजनिक गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्र बिलास भुर्तेल र पूर्वअध्यक्ष नवराज कुँवरका गतिविधिका कारण संस्था नै समस्यामा परेको भन्दै घटनाक्रम सार्वजनिक गरेका हुन्।
महासंघले जारी गरेको वक्तव्यमा संस्थाको विधान, निर्णय प्रक्रिया र संस्थागत अधिकारलाई बेवास्ता गर्दै महासचिव भुर्तेल र पूर्वअध्यक्ष कुँवरले महासंघको नाम, लेटरप्याड, छाप तथा आधिकारिक सञ्चार माध्यम प्रयोग गरेको उल्लेख छ। महासंघले यसलाई सामान्य आन्तरिक विवाद नभई संस्थाको वैधानिकता, स्वायत्तता र अस्तित्वसँग जोडिएको गम्भीर संस्थागत संकटका रूपमा लिएको जनाएको छ।
कार्यसमितिलाई नै छलेर ASOCIO उपाध्यक्षमा सिफारिस
महासंघका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा प्रतिनिधित्व गर्ने वा प्रतिनिधि पठाउने अधिकार महासंघको विधानअनुसार अध्यक्ष तथा केन्द्रीय कार्यसमितिमा निहित छ।
तर महासचिव चन्द्र बिलास भुर्तेलले केन्द्रीय कार्यसमितिको निर्णयबिनै पूर्वअध्यक्ष नवराज कुँवरको नाम अन्तर्राष्ट्रिय संस्था एसियन ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को उपाध्यक्ष पदका लागि सिफारिस गरेको महासंघको वक्तव्यमा उल्लेख छ।
वक्तव्यअनुसार कुँवरको मिति २०८३ श्रावण १९ गतेको पत्रका आधारमा भाद्र २ गते महासंघको संस्थागत इमेल प्रयोग गरी उक्त सिफारिस गरिएको थियो।
महासंघले कार्यसमितिलाई जानकारी नै नदिई गरिएको यस्तो सिफारिसले संस्थाको निर्णय प्रक्रिया र विधानको प्रत्यक्ष उल्लङ्घन भएको जनाएको छ।
सचिवालय बन्ददेखि आधिकारिक इमेल नियन्त्रणसम्म
यस विषयमा भाद्र ४ गते बसेको पदाधिकारी बैठकमा प्रश्न उठेपछि विवाद थप चर्किएको महासंघले जनाएको छ।
महासंघका अनुसार भाद्र ५ गतेका लागि तय गरिएको विधिसम्मत केन्द्रीय कार्यसमिति बैठकलाई प्रभावित पार्ने गरी सचिवालय बन्द गरिएको थियो। साथै, महासंघको आधिकारिक इमेलको पासवर्ड परिवर्तन गरी त्यसमा एकलौटी नियन्त्रण कायम गरिएको र संस्थाको छाप, दर्ता तथा चलानी किताबसमेत आफ्नो नियन्त्रणमा राखिएको महासंघको दाबी छ।
महासंघले यस्ता गतिविधिले संस्थाको दैनिक प्रशासनिक काम, आधिकारिक सञ्चार र निर्णय प्रक्रियामै अवरोध सिर्जना गरेको जनाएको छ।
विदेशबाटै संस्थाको लेटरप्याड र छाप प्रयोग
महासंघले जाकार्ता पुगेपछि समेत महासचिव भुर्तेलले संस्थाको आधिकारिक लेटरप्याड तथा छाप प्रयोग गरी विज्ञप्ति जारी गरेको विषयलाई समेत गम्भीर रूपमा उठाएको छ।
महासंघका अनुसार संस्थाभित्र विधिसम्मत रूपमा प्रतिनिधि चयन गर्ने प्रक्रिया चलिरहेका बेला विदेशबाटै संस्थाको आधिकारिक स्रोतसाधन प्रयोग गरी सार्वजनिक धारणा जारी गर्नुले संस्थागत अधिकार र मर्यादामाथि प्रश्न खडा गरेको छ।
महासंघले यस्तो कार्यबाट संस्थाको आधिकारिक निर्णय र व्यक्तिगत रूपमा जारी गरिएका सामग्रीबीच भ्रम उत्पन्न भएको जनाएको छ।
ASOCIO प्रतिनिधित्वबारे महासंघको छुट्टै निर्णय
महासंघले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको अध्यक्षतामा बसेको विधिसम्मत बैठकले ASOCIO मा महासंघको आधिकारिक प्रतिनिधि पठाउने निर्णय गरिसकेको जनाएको छ।
यसका बाबजुद संस्थागत निर्णय र प्रक्रियाविपरीत ASOCIO को साधारण सभामा सहभागी हुने तथा उपाध्यक्ष पदमा निर्वाचित भएको दाबी गर्ने गतिविधि स्वीकार्य नहुने महासंघको भनाइ छ।
महासंघले आफ्नो विधान र आधिकारिक निर्णय प्रक्रियाबाहिरबाट गरिएको कुनै पनि प्रतिनिधित्वलाई संस्थाको आधिकारिक प्रतिनिधित्वका रूपमा नमान्ने स्पष्ट पारेको छ।
क्यान महासंघले कानुनी बाटो रोज्यो
महासंघले विवादलाई अब संस्थागत तथा कानुनी प्रक्रियामार्फत अघि बढाउने निर्णय गरेको जनाएको छ।
वक्तव्यअनुसार संस्थाको आधिकारिक इमेल, लेटरप्याड, छाप तथा अन्य संस्थागत स्रोतको प्रयोगसँग सम्बन्धित घटनाबारे नेपाल प्रहरीको साइबर ब्युरो र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आधिकारिक उजुरी दर्ता गरिएको छ।
महासंघले घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी तथा संस्थागत कारबाही अगाडि बढाउने जनाएको छ।
‘क्यान कसैको निजी स्वार्थ पूरा गर्ने संस्था होइन’
कार्यवाहक अध्यक्ष अधिकारीले क्यान महासंघ कुनै व्यक्ति वा समूहको निजी स्वार्थ पूरा गर्ने संस्था नभएको बताएका छन्।
उनका अनुसार क्यान महासंघ सूचना प्रविधि क्षेत्रको साझा, वैधानिक र संस्थागत प्रतिनिधित्व गर्ने संस्था भएकाले यसको विधान, निर्णय प्रक्रिया, मर्यादा र अधिकारमाथि हुने कुनै पनि हस्तक्षेपलाई सामान्य रूपमा लिन नसकिने अवस्था आएको छ।
महासंघले आफ्ना सदस्य, प्रदेश तथा जिल्ला शाखा, सम्बद्ध संस्था र सम्पूर्ण सरोकारवालालाई संस्थाको आधिकारिक निर्णय र सञ्चार माध्यमबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।
वक्तव्यमा महासंघले संस्थाको अस्तित्व, स्वाभिमान र वैधानिक संरक्षरणका लागि आवश्यक सबै संस्थागत तथा कानुनी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
