रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार पार्ने काम सुरु भएको छ। बाढीका कारण अवरुद्ध सडक खण्डमा यातायात सञ्चालन गर्ने उद्देश्यले सरकारले बेलिब्रिज निर्माणलाई तीव्रता दिएको हो।
स्याफ्रुबेसीस्थित नदीको दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने तथा पुल जोड्ने क्षेत्रसम्म पहुँचमार्ग निर्माणको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार स्याफ्रुबेसीमा कुल ७६ मिटर लामो बेलिब्रिज निर्माण गरिनेछ। पुल जडानका लागि आवश्यक १४ मिटर लामो फाउन्डेसन तयार पार्न जग खन्ने काम भइरहेको छ। त्यसका लागि दुई वटा स्काभेटर परिचालन गरिएको छ।
बेलिब्रिज निर्माणका लागि आवश्यक एक्सेस रोड निर्माणको कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ। नदीको दुवैतर्फबाट एकैपटक काम अघि बढाइएकाले निर्माण प्रक्रिया छिटो सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण रसुवाको स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडक सम्पर्क अवरुद्ध भएको थियो। सो सडकखण्डमा अस्थायी संरचना निर्माण गरेर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। वेत्रावतीको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि पुल निर्माणलाई तीव्रता दिइएको हो।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने मन्त्रालयको भनाइ छ। यसले बाढीपछि अवरुद्ध उत्तरी सीमा जोड्ने सडकमार्ग सञ्चालनमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
