आज दशैंको दोश्रो दिन ब्रम्हचारिणी देवीको पूजा

बडा दशैंको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणी देवीको पूजा आराधना गरिँदैछ । हिजो घटस्थापना गरेसँगै हरेक दिन नवदुर्गाका नौ वटा रुपको पूजा गर्ने चलन छ ।

माता ब्रम्हचारिणी देवीको नाममा नै उनको शक्तिको महिमा वर्णन छ । ब्रम्हको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने अर्थात् तपको आचरण गर्ने शक्तिस्वरुपा देवीका रुपमा ब्रम्हचारिणी देवीलाई लिइन्छ ।

ब्रम्हचारिणी देवीको पूजा गर्नाले तप, त्याग, संयम, सदाचारको वृद्धि हुने जनविश्वास रहेको छ । नवरात्रिको दोस्रो दिन पूजा गरिने ब्रम्हचारिणी देवी सृष्टिमा ऊर्जाको प्रवाह, कार्यकुशलता र आन्तरिक शक्तिमा विस्तारकी जननी हुन् ।

उनी यस लोकका समस्त चर र अचर जगतकी विद्याकी ज्ञाता हुन् । दशैं लागेपछि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ ।