सिटिजन्स बैंकद्वारा जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ।

बैंकको जुम्ला शाखामार्फत कर्णाली प्रदेशको पातारासी गाउँपालिका-७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो।

ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई चिसो मौसममा विद्यालय जान सहज बनाउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ। यस पहलले विद्यार्थीलाई न्यानो प्रदान गर्नुका साथै ग्रामीण क्षेत्रको शैक्षिक वातावरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।