भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा,अपराध नियन्त्रण र विपद् व्यवस्थापनका निम्ति सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।
गुरुङले आतंकवाद, लागुऔषध ओसारपसार,मानव बेचबिखन,सम्पत्ति शुद्धीकरण,अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्य आवश्यक रहेको बताएको जानकारी गृह मन्त्रालयले दिएको छ ।
त्यसैगरी,जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद जोखिमलाई सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण र संयुक्त कार्यदल गठन गर्ने प्रस्तावसमेत राखिएको बताइन्छ ।
बैठकपछि गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा नेपाल र भारतबीच साझा सुरक्षा चासोका विषयमा समन्वय तथा सहकार्य सुदृढ बनाउनेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
यसका साथै नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका प्राविधिक समस्याबारे पनि गृहमन्त्री गुरुङले चासो व्यक्त गरेका छन् ।
विशेषगरी भारतीय मानक ब्युरो (बिआईएस) प्रमाणीकरणका कारण नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश गर्दा भोग्नुपरेका समस्याबारे उनले भारतीय समकक्षीको ध्यानाकर्षण गराएको समेत प्राप्त समाचारमा उल्लेख छ ।
