तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार

नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उनले उक्त पुरस्कार जितेकी हुन्।

तामाङले नुवाकोटस्थित एक फेन्सी हाउसबाट तीन हजार रुपैयाँबराबरको सामान खरिद गरेकी थिइन्। सोही खरिदको बिल नम्बर ०८१६३२५१५८४९ बम्पर पुरस्कारका लागि छनोट भएको हो।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले बम्पर विजेताको नाम सार्वजनिक गरेका थिए। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार गत असोज १६ देखि ३१ गतेसम्मको अवधिका १६ जना पाक्षिक विजेता र एकजना बम्पर विजेता घोषणा गरिएको हो।

बम्पर विजेता तामाङले १० लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने अन्य १६ जना पाक्षिक विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्।

सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिलबिजक लिने र दिने संस्कृतिको विकास गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले सहभागिता जनाउन पाउने व्यवस्था छ।

यस कार्यक्रममार्फत उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको छ।