नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुवै खेल गुमाएको पोखरा यसपटक विगतको इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। अर्कोतर्फ, लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम भने पोखराविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा छ।
अघिल्ला दुई संस्करणका ुहेड टु हेडु तथ्याङ्क हेर्दा यी दुई टोलीबिच दुईपटक भेट भएको छ र दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ। यसर्थ, पोखराका लागि बुधबारको खेल जित निकाल्ने अवसर मात्र नभई सुदूरपश्चिमविरुद्ध पहिलो जित दर्ता गर्ने ठुलो चुनौतीसमेत हुनेछ।
पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल यात्रा तय गरेको सुदूरपश्चिम दुवै पटक उपविजेतामै सीमित भएको थियो। यसपटक भने टोली जसरी पनि उपाधि उचाल्ने लक्ष्यमा छ। पोखरा भने अघिल्ला संस्करणहरूमा ‘प्लेअफु सम्म पनि पुग्न नसकेको निराशाजनक इतिहासलाई बदल्दै बलियो प्रदर्शन गर्न
चाहन्छ।
सुदूरपश्चिमको नेतृत्व नेपाली राष्ट्रिय टोलीका उत्कृष्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। पोखराको कप्तानी भने कुशल भुर्तेलको काँधमा छ । दुवै टोलीमा रहेका विदेशी खेलाडीको प्रदर्शन र नेपाली खेलाडीको सामूहिक प्रयासले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पार्नेछ।
तेस्रो संस्करणको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गर्दै जम्मा ८७ रनमा समेटिएको सुदूरपश्चिमलाई प्रतियोगिताको सुरुवातमै ठुलो दबाब परेको छ।
लुम्बिनीले तीन विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो। पहिलो हारको त्यही दबाबलाई चिर्दै सुदूरपश्चिम पोखराविरुद्धको खेलमार्फत जितको लयमा फर्किने प्रयासमा हुनेछ।
यता, पोखराले भने बुधबारको यसै खेलबाट प्रतियोगितामा आफ्नो अभियान सुरु गर्दैछ । पहिलो खेलमै जित निकाल्न सके पोखरालाई अङ्क तालिकामा सुखद र बलियो सुरुवात गर्ने अवसर प्राप्त हुनेछ।
