स्टार्टअप समिट नेपाल २०२६ मा निस्केको एक निष्कर्स स्टार्टअपलाई बैंकिङ पहुँचदेखि ब्रान्डिङसम्मको सहजीकरण आवश्यक

पोखरा । नेपालमा स्टार्टअप तथा नयाँ उद्यमको विकासका लागि वित्तीय पहुँचसँगै व्यावसायिक योजना, बजार व्यवस्थापन, ब्रान्डिङ र लगानीकर्तासँगको सम्बन्ध विस्तार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। पोखरामा आयोजित स्टार्टअप समिट नेपाल २०२६ मा बैंक तथा वित्तीय संस्था, लघुवित्त क्षेत्र र डिजिटल मार्केटिङका प्रतिनिधिले उद्यम विकासका विभिन्न पक्षबारे धारणा राखेका हुन्।

कार्यक्रममा नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले स्टार्टअप तथा नवउद्यमीलाई उपलब्ध वित्तीय सेवा, कर्जा सुविधा र उद्यम विकासमा बैंकिङ क्षेत्रको भूमिकाबारे प्रस्तुति दिएका थिए।

उनीहरूले व्यवसाय सुरु गर्नुअघि स्पष्ट व्यावसायिक अवधारणा, प्रभावकारी प्रस्तावना र यथार्थपरक बिजनेस प्लान तयार गर्नुपर्नेमा जोड दिए। व्यवसायको सम्भावना, बजारको अवस्था र ऋण तिर्न सक्ने क्षमताको मूल्याङ्कनका आधारमा धितोबिनासमेत कर्जा उपलब्ध हुन सक्ने उनीहरूको भनाइ थियो।

त्यसैगरी डिजिटल प्रविधि, मार्केटिङ तथा ब्रान्डिङसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै ओस्कार मान कतिलाले उत्पादन निर्माणदेखि बिक्रीसम्म उपभोक्ताको मनमा सकारात्मक छाप पार्ने गरी काम गर्नुपर्ने बताए। उत्पादनको गुणस्तरका साथै त्यसको प्रस्तुति, ब्रान्ड पहिचान र प्रभावकारी बजार प्रवर्द्धन पनि सफल व्यवसायका आधार भएको उनको भनाइ थियो।

समिटमा सहभागी विद्यार्थीले पनि स्टार्टअपका लागि लगानी र सामाजिक सोचसँग सम्बन्धित महत्वपूर्ण प्रश्न उठाएका थिए। विद्यार्थी जोन श्रेष्ठले विदेश जाने प्रयोजनका लागि ऋण पाउन सहज हुने तर नेपालमै व्यवसाय गर्छु भन्दा बैंक र अभिभावकले विश्वास गर्न कठिन मान्ने अवस्थाबारे प्रश्न गरे।

त्यस्तै, विद्यार्थी इस्मि श्रेष्ठले विदेश जान चाहँदा अभिभावकले आर्थिक सहयोग गर्ने तर स्वदेशमै व्यवसाय सुरु गर्न खोज्दा आवश्यक सहयोग गर्न हिचकिचाउने प्रवृत्तिबारे जिज्ञासा राखिन्। युवाको व्यावसायिक योजना र क्षमताका आधारमा अभिभावकको धितोबिना बैंकले कर्जा उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने उनको प्रश्न थियो।

विद्यार्थीका प्रश्नले स्टार्टअपका लागि कर्जा मात्र पर्याप्त नहुने, परिवार, बैंक, समाज र राज्यको सोचमा पनि परिवर्तन आवश्यक रहेको देखाएको थियो। उद्यमशीलता विकासका लागि आर्थिक सहयोगसँगै विश्वास, परामर्श, जोखिम व्यवस्थापन र असफलतापछि पुनः प्रयास गर्ने अवसर आवश्यक रहेको छलफलको निष्कर्ष थियो।