नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गरेका छन् । उनले विशेष महाधिवेशनपश्चात् पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक लेनदेन र अनुचित काम नभएको पनि बताएका छन् ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद र आफूहरूमाथि उठेका प्रश्नबारे सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार भिडियो सार्वजनिक गर्दै थापाले आफ्नो नैतिकता र इमानदारितामाथि प्रश्न उठाउने गरी प्रायोजित भाष्य निर्माण गर्न खोजिएको आरोप लगाए । ‘मेरो आत्मामा दाग छैन, मनमा कुनै कालो छैन, मेरा हात सफा छन् (माइ ह्यान्ड्स आर क्लिन),’ उनले भिडियो सन्देशमा भनेका छन् ।
सामाजिक सञ्जालमार्फत सभापति थापाले पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानूनी लडाइँमा एक सुकाको समेत आर्थिक लेनदेन वा कुनै अनुचित काम नभएको उल्लेख गरे । उनले यसबारे पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गरेर पार्टीको धारणा स्पष्ट पारिसकेको उल्लेख गरे । साथै, सभापति थापाले कांग्रेस र पार्टी नेतृत्व सबै खालका अनुसन्धानका लागि तयार रहेको बताए ।
विशेष महाधिवेशनको सन्दर्भमा इनाम सापकोटाको नाममा सार्वजनिक भएको भनिएको अडियोबारे टिप्पणी गर्दै थापाले त्यसमा के, कहाँ, कहिले र कसले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए । अडियोको सत्यतथ्य अनुसन्धानबाट खुल्नुपर्ने भन्दै उनले अहिले आफूहरूलाई प्रश्न गर्नुभन्दा प्रहरीको अनुसन्धानको निष्पक्षतामाथि निगरानी गर्नुपर्ने धारणा राखे ।
‘इनाम सापकोटा अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, त्यहाँ सोध्ने प्रश्न हो । यसमा को–को जोडिन्छन्, ती सबै कुरा खोतल्नुपर्छ । प्रेस र अरू चासो राख्नेहरूको पनि यही जिम्मेवारी हो । निष्पक्ष अनुसन्धान भयो भने दूधको दूध, पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौँ,’ उनले थपे ।
केही दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि गुन्डु पुगेको सन्दर्भमा पनि उनले भिडियोमा बोलेका छन् ।
सभापति थापाले अडियो सार्वजनिक भएपछि आफूहरू डराएर पार्टीका नेताहरूसँग भेटघाटमा लागेको भन्ने भाष्यसमेत गलत भएको जिकिर गरे ।
कांग्रेस सभापतिका रूपमा पार्टीका नियमित जिम्मेवारी पूरा गर्न विभिन्न दलका नेताहरूसँग भेटघाट र संवाद गरेको उनले स्पष्ट पारे ।
मधेस प्रदेश सरकारले आगामी पाँच–सात दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको उनले बताए । ती भेटमा लुकाउनुपर्ने कुनै विषय नभएको र सबै राजनीतिक संवाद खुला रूपमा भइरहेको उनको भनाइ छ ।
थापाले वर्तमान सरकार पाँच वर्षको जनादेश लिएर आएको भन्दै त्यसको सम्मान गर्ने पनि बताए । तर, सरकार आफ्नो प्राथमिकताबाट विचलित भएको उनको टिप्पणी छ । विपद्का कारण घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुकुम्बासीको व्यवस्थापन, रोजगारी सिर्जना र लगानीको वातावरण निर्माण सरकारको प्राथमिकतामा हुनुपर्ने उनले बताए ।
‘आज यति धेरै मानिस घरबारविहीन भएका छन्, उनीहरूको पुनःस्थापना कसरी गर्ने रु सुकुम्बासीहरू घरटहरा छोडेर खुला ठाउँमा बसेको कति समय भयो, उनीहरूको पुनःस्थापना कसरी गर्ने रु सबैभन्दा ठूलो कुरा अर्थतन्त्र छ, रोजगारी खोइ रु लगानी खोइ रु’ उनले प्रश्न गरे ।
सरकारले सही काम गर्दा कांग्रेसको साथ र सहयोग रहने, तर गलत काम गर्दा प्रश्न र प्रतिवाद जारी रहने उनले स्पष्ट पारे ।
लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरूलाई कमजोर बनाउने काम भए कांग्रेस मूकदर्शक भएर नबस्ने उनको चेतावनी छ । सरकारमाथि कांग्रेसले प्रश्न उठाउन थालेकै समयदेखि आफूहरूमाथि एउटा ‘म्यानुफ्याक्चर न्यारेटिभ’ अर्थात् कृत्रिम भाष्य निर्माण गर्न खोजिएको थापाको आरोप छ । तर, यस्ता हल्लाले सरकारलाई प्रश्न गर्ने र गलत कामको प्रतिवाद गर्ने आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले बताए ।
आफूले यसअघि पनि शक्तिशाली सत्ताका गलत कामविरुद्ध आवाज उठाउँदै आएको स्मरण गराउँदै थापाले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न नछाडेको बताए । आफ्नो स्वच्छता, इमानदारिता र नैतिकतामा सम्झौता नगरेकाले नै सत्तासँग लड्ने आँट आएको उनको दाबी छ ।
‘जब–जब मैले बलियो सत्तासँग प्रश्न गरेको छु, लडेको छु, तब–तब कुनै न कुनै प्रायोजित र म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ । कहिले यो भयो, कहिले त्यो भयो भन्दै मेरो चरित्रमाथि प्रश्न गरिएको छ,’ उनले भने, ‘तर प्रत्येकपटक म लडेर आएको छु, ढलेको छैन । यसको सबैभन्दा ठूलो कारण मेरो नैतिक बल हो ।’
आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्दै जाने र त्यस क्रममा आउने चुनौती सामना गर्ने भन्दै उनले प्रायोजित हल्लाका बीच सही प्रश्न उठाउने अधिकार कमजोर हुन नहुनेमा जोड दिए । प्रश्न गर्ने अधिकार नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले प्रश्न मरे लोकतन्त्र मात्रै नभई मुलुकको प्रगति पनि रोकिने बताए ।
‘यत्रो प्रायोजित हल्लाहरूका बीचमा प्रश्न मर्नु हुँदैन । प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ, डेमोक्रेसी मात्रै होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ उनले भने, ‘आजको सबैभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौँ ?’
