उच्च अदालत पाटनका न्यायाधीश खड्गबहादुर केसीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)का रूपमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार डोलनाथ ढकालले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।
रसुवाको कालिका गाउँपालिका–३ स्थायी घर भएका ढकाल हाल टोखा नगरपालिका–१ स्थित आफ्नै निवासमा बस्दै आएका थिए ।
उनले हिजो साँझ करिब सवा ८ बजेतिर आफ्नै पेस्तोलले आफैँलाई गोली प्रहार गरेका हुन् ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा ढकालले मृत्यु भएको प्रहरीले जनाएको छ ।
यद्यपि, पारिवारिक स्रोतले भने उनको घरमै मृत्यु भइसकेको बताएको छ।
घटनाको कारण खुलिसकेको छैन । स्रोतका अनुसार ४० वर्षीय ढकालमा कुनै मानसिक समस्या वा अन्य असहजता देखिएको थिएन । घटनाको दिन पनि उनी सामान्य अवस्थामै थिए ।
ढकाल यसअघि पूर्वमन्त्री तथा नेकपा नेतृ रञ्जिता श्रेष्ठको पीएसओका रूपमा कार्यरत थिए ।
सरकारले नेताहरूको सुरक्षामा खटिएका पीएसओ फिर्ता बोलाएपछि उनलाई उच्च अदालत पाटनको १५ नम्बर इजलासका न्यायाधीश केसीको सुरक्षामा खटाइएको थियो ।
हाल त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
